बिर्तामाेड । नेपाल चिकित्सक संघले आज देशभरका स्वास्थ्य संस्थामा आकस्मिकबाहेक सेवा बन्द गरेकाे छ । मकवानपुरको हेटौंडास्थित सन्चो अस्पतालमा दुई चिकित्सकमाथि आक्रमण गरिएको विरोधमा संघले आज आकस्मिकबाहेकका सेवा बन्द गर्ने घोषणा गरेकाे छ ।

‘नेपाल चिकित्सक संघले भदौ २७ गते ७२ घण्टाको अल्टिमेटम दिई दोषीहरूलाई कानूनी कारवाही गर्न माग गरेको थियो । सरकारले सम्पूर्ण दोषीहरूलाई कानूनी दायरामा नल्याएको भन्दै नेपाल चिकित्सक संघ बाध्यताबस भदौ ३१ गतेदेखि आन्दाेलनका कार्यक्रम सार्वनिक गरेकाे थियाे ।

भदौ २७ गते डा. विकास थापा र डा. प्रशान्त विडारीमाथि बिरामीको उपचार गरिरहेको अवस्थामा सांघातिक आक्रमण भएको थियो ।

गत बुधबार मकवानपुरको हेटौँडा उपमहानगरपालिका–१ मा रहेको सञ्चो अस्पतालमा कार्यरत डाक्टर थापा तथा बिडारीलाई कुटपिट गरिएको थियो ।

डेङ्गु रोगबाट सङ्क्रमित बिरामीको उपचारमा लापरवाही गरेको भन्दै उनका आफन्तले दुई चिकित्सकमाथि हातपात तथा कुटपिट गरेका थिए ।