शिवसताक्षी । झापाले नेपाली फुटबलमा राम्रा खेलाडी जन्माएको छ । फुटबल खेलमा झापालीको क्रेज पनि राम्रो छ । झापा गोल्डकप, भद्रपुर-झापा गोल्डकप, सताक्षी गोल्डकप जस्ता प्रतिष्ठित गोल्डकपहरु पनि झापामा हुने गरेको छ ।
जहाँ दर्शकको उपस्थितिले नै पुष्टि गर्छ झापामा फुटबल प्रेमी कति छन् भनेर । हिउँदमा गोल्डकपमा रमाउँछ, झापा । बर्खामा पनि विभिन्न स्तरका प्रतियोगिता भइरहेका हुन्छन् । जसमा पनि दर्शकको राम्रो सहभागिता रहन्छ ।
झापामा फुटबल प्रतियोगिता युवाका लागि मात्र हुँदैन भेट्रानका लागि पनि आयोजना हुन्छ । जसले नियमित खेल जीवनबाट टाडा रहेका भेट्रान खेलाडीलाई पुनः खेलमैदान फर्काउँछ । भेट्रानहरुलाई खेलमैदानमा पुनः फर्काउनका लागि शिवसताक्षी नगरपालिका- ३ को भेट्रान क्लबले नगरस्तरीय भेट्रान फुटबल प्रतियोगिता गर्ने भएको छ ।
दसैँको अवसर पारेर शिवसताक्षी-३ स्थित पाराबारीमा फुटबल प्रतियोगिता गर्न लागिएको क्लबका अध्यक्ष मनकुमार लिम्बु (तारा)ले जानकारी दिए । दसैँको अवसरमा असोज २४ देखि ७ दिनसम्म हुने प्रतियोगिताको तयारी तीव्र पारिएको उनले बताए ।
‘भेट्रानलाई मैदानमा उतार्ने हाम्रो योजना छ । तयारी तीव्र रूपमा गरिरहेका छौँ । सबैको साथ सहयोग आवश्यक छ,’ उनले भने, ‘हामी प्रतियोगिता भव्य गर्ने तयारीमा छौँ ।’ प्रतियोगिता शिवसताक्षी-३ स्थित भानु माध्यमिक विद्यालयको खेल मैदानमा हुनेछ ।