बिर्तामोड । सरकारले प्रस्ताव गरेको शिक्षा बिधेयकको बिरोध गर्दै शिक्षक महासंघले आन्दोलन घोषणा गरेको छ । बिद्यालय बन्द सहितका आन्दोलनमा सहभागि हुन देशभरका शिक्षक बिद्यालय बन्द गरेर आन्दोलनमा काठमाण्डौ केन्द्रित भएका छन् । 

असोज ३ गते संविधान दिवसको दिनदेखि आन्दोलन गर्ने घोषणा गरेका शिक्षकहरुले अर्काे सुचना नभएसम्मका लागि बिद्यालय बन्द गरेको जनाएका छन् । 

आन्दोलनमै सहभागि हुन झापासहितको जिल्लाका शिक्षकहरु धमाधक राजधानी काठमाण्डौ जान थालेका छन् । सामुदायिक बिद्यालयका धेरैजसो शिक्षकहरु पठन–पाठनभन्दा पनि बढी राजनीतिक क्रियाकलावमा सक्रिय रहने गरेको आरोप लागेको छ । 

सामुदायिक बिद्यालयतर्फ जिल्लामै कमजोर नतिजा ल्याएको झापाको बाह्दशी गाउँपालिकाका शिक्षकपनि आन्दोलनका लागि भन्दै बिद्यालय बन्द गरेर काठमाण्डौ गएका छन् । भर्खरै प्रकाशित भएको कक्षा १२ को नतिजामा जिल्लामै कमजोर सावित भएको बाह्दशीका शिक्षकसमेत काठमाण्डौ लागेका हुन् । 

बाह्दशीमा तीनवटा सामुदायिक बिद्यालय छन् । जसमध्ये फुलबारी माविबाट सहभागि ४४ जना बिद्यार्थीमा १ जना, गौरिशंकर माविबाट ४८ जनामा ४ जना र पशुपति माविबाट १७२ जनामध्ये ४२ जना उत्तिर्ण भएका थिए । यो नतिजा सामुदायिक बिद्यालयमध्ये जिल्लामै सबैभन्दा कमजोर हो । 

पशुपति माविका प्रधानाध्यापक थिरकुमार दाहालका अनुसार सरकारले अघि सारेको बिधेयकले शिक्षा क्षेत्र तहस नहस हुने भएकाले आन्दोलन शुरु गरेको हो । उनका अनुसार कक्षा १० पछि परीक्षा नै नगरी कक्षा ११ मा अध्ययन गर्न पाउने ब्यवस्था, स्थानीय तहले शिक्षकको सरुवा, बढुवा र बर्खास्तसम्म गर्न पाउने अधिकारको शिक्षक संगठनले बिरोध गरेका छन् । 

साउन अन्तिममा प्रकाशित कक्षा १२ को नतिजा कमजोर हुनु शिक्षकको कमजोरी भएको उनले बताए । शिक्षकका साथै कोरोनाकालमा ग्रेडेड भएका बिद्यार्थी हुनु, नयाँ कोर्ष रहनु, मोवाइलको बढ्दो प्रयोग र अभिभावकको पनि शिक्षामा रुची नहुनुका कारणले बिद्यार्थीको नतिजा कमजोर आउने गरेको उनले बताए । उनले एकपटकको नतिजालाइ हेरेर धारणा बनाउन नहुने समेत बताए ।  

यसैबीच सरकारले बोलाएको वार्तामा शिक्षक महासंघ सहभागि नहुने भएको छ । जुन ठाउँबाट वार्तामा बोलाइयो, त्यो ठाउँमा वार्तामा बस्नु निरर्थक हुने भन्दै महासंघले वार्तामा नबस्ने घोषणा गरेको हो ।