बिर्तामोड । झापाको बिर्तामोडमा सञ्चालित बिर्तामोड चिल्ड्रेन हस्पिटलले एक बर्षको अवधिमा १ हजार ६७०  जना बालबालिकाको उपचार गरेको छ । अस्पतालका सञ्चालक डा. रुपक आचार्यका अनुसार यस अवधिमा तीनजनाको अन्यत्र रेफर गरेको, ३५ जनाको उपचार भईरहेको बताए । 

आचार्यका अनुसार आधुनिक ल्याव निर्माण गरिएको छ । नवजात शिशुको उपचारका लागि छुट्टै वार्ड निर्माण गरिएको छ भने बालमैत्री वाताबरण बनाउन हस्पिटल प्रशासनले सक्दो प्रयास गरिरहेको छ । 

कार्यक्रमका प्रमुख अतिथि डा. पिताम्बर ठाकुरले सुविधासम्पन्न अस्पताल निर्माण तथा दक्ष चिकित्सकबाट उपचार हुन थालेपछि बाल मृत्युदर घटेको दावी गरेका छन् । उनले स्वास्थ्य सेवाको हब बिर्तामोडमा छुट्टै बाल अस्पताल सञ्चालन हुनु यहाँको लागि गौरव भएको बताए । 

केही समययता स्वास्थ्य उपचार गर्ने चिकित्सक माथि लगातार भइरहेको आक्रमणले बिरामीको उपचार गर्न त्रासको वाताबरण बन्दै गएको उनले बताए । ‘हामी यतिबेला त्रसित छौ । मुखबाट सास दिएर सिकिस्त बिरामी बचाउनु पर्ने हुन्छ, ठाकुरले भने– ‘पछि बिरामी मर्यो भने मुख जोडेर मारेको आरोप लगाउन सक्छन् । हामिले डरसँगै उपचार गर्नुपर्ने हुन्छ । स्वास्थ्य क्षेत्रमा त्रासमय वातावरण अन्त्य गर्न अनुरोध गर्दछु ।’ भयरहित वाताबरणमा उपचार गर्न पाउने अवस्था निर्माण नभए नेपालका अधिकांस चिकित्सक बिदेश पलायन हुने समेत उनले बताए । 

हस्पिटलका कार्यकारी प्रमुख डा. सुजाता मैनालीले आर्थिक अभाव भएका बिरामीलाई निशुल्क उपचार गर्ने व्यवस्था गरिएको जानकारी दिइन् । उनले दक्ष र अनुभवी चिकित्सकले उपचार गर्ने हुँदा बालबालिकाको उपचारका लायि अन्यत्र जानुपर्ने अवस्था नरहेको बताइन् । 

जिल्ला समन्वय समितिका उपाध्यक्ष शान्ता रोक्काले गुणस्तरीय उपचार गर्ने अस्पतालको स्थापनाले  उपचारको अभाबमा टाढा जानुपर्ने बाध्यता हटाएको बताइन् । सुविधासम्पन्न बाल अस्पताल सञ्चालन गरेर सामाजिक क्षेत्रमा योगदान गरेको उनले बताइन् ।

हस्पिटलका अध्यक्ष लीला मैनालीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा अन्तरपार्टी महिला सञ्जालका जिल्ला अध्यक्ष लक्ष्मी न्यौपाने, महिला दवाव समुहका अध्यक्ष शारदा रिजाल, हस्पिटलका नर्सिङ बिभाग प्रमुख मञ्जु गुरुङ, पत्रकार महासंघ झापाका अध्यक्ष एकराज गिरी लगायतले शुभकामना मन्तब्य राखेका थिए ।