झापा । विजया दशमीको पूर्वसन्ध्या पारेर आगामी शुक्रबारबाट रिलिजमा आउने फिल्म परदेशी–२ काे प्रमोसनका लागि निर्माण युनिट देश दाैडाहामा लागेकाे छ । 

यसै क्रममा निर्माता मध्येका एक राजेश बशल, कलाकार प्रकाश सपुत र बर्षा शिवाकाेटीकाे टाेलीले झापाकाे बिर्तामाेडमा पत्रकार सम्मेलन गरेकाे छ । 

लोकगायक, संगीतकार तथा फिल्म निर्देशक नारायण रायमाझीद्वारा निर्देशित फिल्ममा अध्ययनका लागि युवाको विदेश यात्रा र त्यसले सिर्जना गर्ने पारिवारिक एवं सामाजिक संवेदना प्रस्तुत गरिएको बशलले बताए । 

प्रेम, बिछोड, उमंग, द्वन्द्वलगायतका मानवीय संवेदनाका विविध पक्षको समिश्रणसहित तयार पारिएको फिल्म गीतसंगीत पक्षलाई विशेष स्थान दिइएको छ। फिल्ममा  अभिनेताका रूपमा डेब्यु पाएका गायक प्रकाश सपूतलाई प्राथमिकता दिएको छ। प्रशान्त तामाङ्का साथमा अभिनेत्रीद्वय केकी अधिकारी र वर्षा शिवाकोटीसँगै अभिनेताद्वय प्रशान्त तामाङ र दिलीप रायमाझीलाई पनि देख्न पाइन्छ। निर्देशक रायमाझीको सुपरहिट सामाजिक फिल्म गोर्खा पल्टनमा लाहुरेको भूमिकामा देखिएका अभिनेता तामाङ परदेशी–२ मा पनि सोही भूमिकामा छन्। रायमाझीले परदेशीको सफलतापछि त्यसैको सिक्वेलस्वरूप परदेशी–२ निर्माण गरेका हुन्।

निर्देशक रायमाझी र वंशलको संयुक्त निर्माणमा बनेको फिल्ममा प्रकाश, केकी, वर्षा, प्रशान्त र दिलीपका साथमा नीर शाह, रमा थपलिया, सविन बास्तोला, देवेन्द्र बब्लु, रोशनी कार्कीलगायतले अभिनय गरेका छन्। फिल्ममा रमेश बिजीको कथा र पटकथा, अष्ट महर्जनको द्वन्द्व, रामजी लामिछाने र गोविन्द राईको नृत्य निर्देशन, मानकृष्ण महर्जनको छायांकन र दीर्घ खड्काको सम्पादन रहेको छ।