बिर्तामोड । अर्जुनधाराको बिल्डकन ईण्डष्ट्रिज र बिर्तामोड नगरपालिकाबीच पेबर्स प्रयोगमा मिलेमतो गरी ६ बर्षदेखि महङगो मुल्यमा पेबर्स प्रयोग गरेको समाचार प्रकाशन भएपछि कम्पनीले बिहीबार बिर्तामोडमा ५ बर्ष पहिला निर्माण गरेको सडक हस्तान्तरण गरेको छ । 

सडकको ५ बर्ष ग्यारेन्टी रहेकोले हस्तान्तरण गरिएको कार्यक्रममा बताइएको थियो । ग्यारेन्टी अवधिभर सडकमा कुनै समस्या नआएको कम्पनीले जनाएको छ ।

5

कम्पनीले एक कार्यक्रमको आयोजना गरी सडक हस्तान्तरण गरेको हो । सडक हस्तान्तरण कार्यक्रममा बिर्तामोड नगरपालिकाका प्रमुख पवित्रादेबी महातारा प्रसाईँ, उप–प्रमुख नगेन्द्र संग्रौला, प्रवक्ता अग्नि पाण्डे, वडा न ५ का अध्यक्ष रोहित प्रसाईँ, उद्योगका सञ्चालक र सो सडकका उपभोक्ता बालाजी टोल विकास संस्थाका प्रतिनिधिको उपस्थिति रहेको थियो । 

अन्य कम्पनिले ४ लाख ६५ हजार रुपैयाँको लागतमा पेबर्स बिछ्याउन सहमत भएको बिर्ताबजारस्थित नवदुर्गा टोलको ११५ मिटर लम्बाईको सडकमा बिल्डकनका प्राविधिकले ६ लाख २३ हजार रुपैंयाँ लागत निकालेका थिए । बिल्डकनको तुलनामा ३० प्रतिशत कम्ती लागतमा नै काम सम्पन्न हुने भएपछि उनीहरुले अरु कम्पनीको पेबर्स प्रयोग गरेर सडक निर्माण गरेका छन् । सोही समाचार सञ्चारमाध्यममा प्रकाशित भएपछि कम्पनीले सडक हस्तान्तरण गरेको हो । 

बिर्तामोड नगरपालिका भने नेपाल गुणस्तर (एनएस) चिन्हको पछि लागेको छ । बिल्डकनले दिने ५ बर्ष ग्यारेन्टी र अन्य कम्पनीले गर्ने कामको १० बर्ष ग्यारेन्टीको मतलब नै नराखी एनएस चिन्हको पछि लाग्ने नगरपालिकाको कार्य शंकास्पद छ । यसका पछाडि कुनै न कुनै आर्थिक चलखेल हुने गरेको आरोप उपभोक्ताको छ । 

कार्यक्रममा सहभागि बिर्तामोड नगरपालिकाका मेयर प्रसाईँले नगरको उदेश्य गुणस्तरीय निर्माण भएको बताइन् । उनले एनएस चिन्ह प्राप्त कम्पनी बिल्डकनसँग गरिएको सम्झौता ठिक भएको धारणा राखिन् । उनले भनिन्–‘अरु कुनै कम्पनीले एनएस चिन्ह लिएर आउँछ भने बिचार गर्न सकिन्छ ।’

उपप्रमुख नगेन्द्र संग्रौलाले पेबर्स प्रयोगमा अनियमितता नभएको बताए । उनले सामाजिक सञ्जाल र सञ्चारमाध्यम नकारात्मक कुराको पछि लागेको आरोप लगाउँदै कसैले अनियमितता प्रमाणित गर्छ भने कारवाही सहन तयार रहेको धारणा राखे । 

बिर्तामोड नगरपालिकाका प्रवक्ता अग्नि पाण्डेले अझ अगाडि बढेर नगरपालिकामा सबैभन्दा बढी पेबर्सको काम वडा न १ मा गरेको बताए । उनले पनि सञ्चारमाध्यममा आएजस्तो एउटा कम्पनीको मात्र पेबर्स प्रयोग गरेर कुनै आर्थिक लाभ नलिएको बताए । 


दुई बर्षमै सडकको यो हालत

1

कम्पनी र नगरपालिकाबीच पेबर्स खरीदको सहमतिमा स्थानीयले चासो राखेपछि एक्कासी सडक हस्तान्तरणको नाममा पत्रकारहरु भेला गरी अनियमितता ढाकछोप गर्ने प्रयास भएको छ । सडक  हस्तान्तरण गरेको केही पूर्वपटी २ बर्ष नपुग्दै सडक बिग्रिएको छ । सो सडक मर्मत गरिदिन उपभोक्ताले हार गुहार गरेपनि उद्योगले कुनै सुनुवाई नगरेको स्थानीय टिकाराम खतिवडाले बताए । 

2

६९ लाखको लागतका निर्माण भएको सो सडकमा प्रयोग गरिएका पेबर्स भासिएर हिड्न नमिल्ने भएको छ । ‘बिल्डकनकै एकजना सञ्चालक भिमचन्द्र भट्टराईको निर्माण कम्पनीले निर्माणको जिम्मा लिएको सडक बनिनसक्दै भत्किएपछि हामीले उहाँलाई मर्मत गरिदिन पटक–पटक अनुरोध ग¥यौं, खतिवडाले भने–‘उहाँहरुले मुनी खाल्डो भएकै अवस्थामा पेबर्स लगाएर झारा टार्ने काम गर्नुभयो ।’ खतिवडाले पेबर्स लगाउन लापरवाही गर्ने बिल्डकनका ठेकेदार बिष्णु महतोको चार्जेवल साइकलसमेत खोसेर राखेका छन् । खतिवडाले सडक मर्मत नगरेसम्म साइकल नदिने बताएका छन् । 

‘पेबर्स लगाउन सहमति गर्दा हामी कति उत्साहित भएका थियौं, बर्षाैंदेखिको धुलो र हिलोबाट मुक्ति पाइयो भन्ने लागेको थियो । खतिवडाले भने–‘अहिले कुन समयमा नालीमा पसिने हो भन्ने डरसरी हिड्नु परेको छ ।’ उनले फिनिसिङमा लापरवाही गरेको हुनाले समस्या जस्ताको तेस्तै रहेको बताए ।

3

नगरपालिकाले पेबर्समा एनएस चिन्हको नाममा सिण्डिकेट खडा गरेर बिल्डकनलाई मात्र पोसेको भन्दै अरु उपभोक्ताले त्यसको बिरोध गरेका छन् । उपभोक्ताले नगरपालिकाले सेटिङमा पेबर्स प्रयोगमा एकाधिकार राखेको आरोप लगाएका छन् । उपभोक्ता समितिको तर्फबाट निर्माण गरिने त्यस्ता सडकमा अन्य कम्पनीको पेबर्स प्रयोग गर्दा भुक्तानी रोक्नुले पनि बिल्डकनसँग नगरपालिकाको सेटिङ रहेको उपभोक्ता श्रीप्रसाद शिवाकोटीले बताए ।