झापा । आज राति ९ बजेदेखि उच्च मूल्यका आठ सय मोबाइल सेट ब्लक हुने भएका छन् ।

सरकारको निर्देशनअनुसार तोकिएको समयभित्र मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडिएमएस)मा दर्ता नभएका मोबाइल सेट सोमबारदेखि ब्लक गर्ने भएको हो ।

नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा उच्च मूल्यका नयाँ सिरिजका मोबाइल सेट ब्लक गर्ने तयारी गरेको छ ।

सोमबार पहिलो दिन आठ सयवटा सेट ब्लक गरिनेछन् । क्रमिक रूपमा प्रत्येक दिन आठ सयदेखि एक हजारवटा सेट ब्लक गरिने छ ।

पहिलो चरणमा प्राधिकरणले हाइप्रोफाइललाई लक्षित गरेको छ । ब्लक भएका मोबाइल सेट पुनः खुलाउन सकिने वा नसिकने भन्ने विषयमा भने प्राधिकरणले कुनै निर्णय गरेको छैन । एमडिएमएस प्रणालीमा ब्लक भएको सेट खुलाउन सकिने व्यवस्था छ । तर, खुलाउने वा नखुलाउने विषयमा सरकारको निर्णयअनुसार हुने छ । यस्ता सेट भन्सार शुल्क बुझाएर नियमसंगत दर्ता भएर आएमा पुनः खुल्नेछन् ।