अर्जुनधारा । झापाको अर्जुनधारा नगरपालिकाले बिपन्न नागरिकलाई सुधारिएको चुलो वितरण गरेको छ । नगरपालिकाले इन्भारोमेन्ट प्रोटेक्सन सेन्टर रौतहटसँगको सहकार्यमा बिपन्न नागरिकलाई चुलो वितरण गरेको हो ।

नगरपालिकाले शुक्रबार बिर्तामोड नगरपालिका–१० मा सुधारिएको चुलो वितरण गरेको छ । भारतको हैदरावादमा निर्माण भएको चुलो नगरपालिकाले वितरण गरेको छ । चुलोको ५ बर्ष ग्यारेन्टी रहेको नगरप्रमुख बलदेबसिंह गोम्देनले जानकारी दिए । उनले नगरका बिपन्न नागरिक पहिचान गरेर चुलो वितरण कार्यलाई निरन्तरता दिनेसमेत बताए । 

नगरपालिकाले पहिलो चरणमा ३ हजार ७ सयवटा चुलो वितरण गर्ने योजना बनाएको छ । त्यो भन्दा बढी चुलोको माग भएका कारण थप १ हजार ५ सयवटा चुलो माग गरिएको उनले बताए । 

वाताबरणमैत्री त्यस चुलोमा पङखा जडान गरिएको हुन्छ । बिजुलीमा पङखा जोडेर सञ्चालन गर्दा आगोको राप कडा हुने भएकाले खाना छिटो पाक्छ । आगो बाल्दा धुँवा नआउने हुँदा वाताबरण संरक्षणमा मदत पुग्ने इन्भारोमेन्ट प्रोटेक्सन सेन्टरका झापा संयोजक अमर मेचेले जानकारी दिए । 

 ५ हजार ५०० रुपैयाँ बजार मूल्य रहेको चुलो ढुवानी खर्च २०० लिएर बितरण गरिने नगर प्रमुख बलदेबले जानकारी दिए । उनका अनुसार निशुल्क चुलो उपलब्ध गराउँदा त्यसको हिफाजत नहुने भएकाले ढुवानी खर्चबापत लागेको रकम २०० रुपैयाँ लिइने भएको छ ।

अर्काे चरणमा इण्डक्सन चुलो वितरण गर्ने नगरको योजना रहेको प्रमुख गोम्देनले बताए । उनले दाउरा नबाल्ने परिवारको छनौट गरेर इण्डक्सन चुलो वितरण गर्ने जानकारी दिए । त्यसका लागि प्रक्रिया शुरु गरिएको उनले बताए ।