हल्दीबारी । झापाको हल्दिबारी गाउँपालिकाले आफ्नो क्षेत्रका सबै काठे पुल विस्थापित गरेकाे छ । स्थानीय तह, प्रदेश सरकार र संघीय सरकारकाे सहभािगतामा काठे पुल विस्थापित गरिएकाे हाे । 

काठे पुल बिस्थापनसँगै यहाँ पक्की पुल निर्माण भएका छन्। यसका साथै  कतै बक्स कल्भर्ट हालिएको छ भने केही ठाउँमा झोलुङ्गे पुल पनि निर्माण गरिएका छन् ।

गाउँपालिकाका अध्यक्ष रवीन्द्र लिङ्देनका अनुसार पालिका क्षेत्रमा एक सय ५० काठका जीर्ण पुल हटाएर पक्की पुल निर्माण गरिएका छन् । 

झापामा तीन दशकअघिसम्म अधिकांश खोला र खोल्सामा काठका पुल मात्र थिए । ती पुल घामपानीले खिइँदै तथा पुराना हुँदै जाँदा जीर्ण भएका थिए । 'अब हल्दिबारी काठे पुलमुक्त क्षेत्र भएको छ', अध्यक्ष लिङ्देनले भने । पूर्वपश्चिम राजमार्गले नछोएको यो पालिका पुरानो सदरमुकाम भद्रपुर र हुलाकी राजमार्गसँग भने जोडिएको छ ।

भद्रपुरबाट सुरु हुने हुलाकी राजमार्ग हल्दिबारीको माझबाट हुँदै पश्चिमतर्फ विस्तार भएको छ । पालिका क्षेत्रमा पर्ने हुलाकी राजमार्ग फराकिलो र कालोपत्र भइसकेको छ । सबै ठाउँमा पुल पक्की बनिसकेका छन् । हल्दिबारीको जनसङ्ख्या ४० हजार छ । पाँचै वडामा सडक कालोपत्र गरिएको पालिकाका योजना शाखा प्रमुख राजन न्यौपानेले बताए । पालिकाले विगत छ वर्षमा ६० किलोमिटर सडक कालोपत्रे भएको छ । मुख्य सडक कालोपत्र गरिएका छन् । कतिपय सडक आन्तरिक स्रोत साझेदारीको रुपमा परिचालन गरेर बनाइएका छन् भने अधिकांश सडक निर्माणमा सङ्घीय सरकारबाट प्राप्त सशर्त र समानिकरणको बजेट प्रयोग भएको छ ।

मुख्य सडक कालोपत्र भएपछि कचनकबलदेखि हल्दिबारी हुँदै विर्तामोडसम्म सार्वजनिक बस यातायात सेवा नियमित सञ्चालन भइरहेको छ । अधिकांश सडक परियोजना रु एक करोडदेखि रु छ करोडसम्मको लागतमा निर्माण भएका हुन् । सडकको नियमित मर्मतसम्भार गर्नका लागि पालिकाले वार्षिक रु दुई करोड बजेट छुट्याउने गरेको अध्यक्ष लिङ्देनले बताए ।