बिर्तामोड । बैदेशिक रोजगारका लागि इजरायल गएकी बिर्तामोडकी इन्दिरा भट्टराई मिश्रको निधन भएको छ । मिश्रको शब शुक्रबार नेपाल ल्याएर अन्तेष्टी गरिएको छ । 

१२ बर्षअघि इजरायलमा केयर गिभरको काम गर्न गएकी मिश्रको नेपाल फर्किने समय नजिकिंदै गर्दा मृत्यु भएको हो । मिश्र मुटुको समस्याबाट पीडित रहेको उनका देवर यज्ञ मिश्रले जानकारी दिए । 

मिश्र प्रत्येक दुई बर्षमा नेपाल आउने र इजरायल फर्किने गरिरहेकी थिइन् । यसैक्रममा बैदेशिक रोजगार सकाएर नेपाल फर्किने समय नजिकिंदै गर्दा उनको निधन भएको मिश्रले बताए । मिश्रको मुटुको भल्वमा समस्या उत्पन्न भएर इजरायलमै अपरेसन गरिएको जानकारी उनले दिए । 

मिश्रको निधन भएको १३ दिनपछि शब नेपाल ल्याउन सफल भएको उनले बताए । इजरायलमा हर्ट अट्याक आएपछि उनलाई उपचारका लागि अस्पताल भर्ना गरिएकाे थियाे । उपचारकै क्रममा मिश्रकाे निधन भएकाे हाे । मृतकका श्रीमान र एक छोरा छन् ।