बिर्तामोड । बिर्तामोड नगरपालिका वडा न ५ मा नगरपालिकाको स्वामित्वमा रहेको १ बिगाहा ३ कठ्ठा जमिनमा टहरा निर्माण गरी व्यवसाय गरिरहेका व्यवसायीलाई नगरपालिकाले जबरजस्ती त्यहाँबाट हटाएको ७ महिनाभन्दा बढी भएको छ । नगरपालिकाले बहुउद्देश्यीय भवन निर्माण गर्ने भन्दै त्यहाँका व्यवसायीलाई हटाएको थियो । 

budhabare 1

नगरपालिकाले बिभिन्न मितिमा ३५, १५, ७, र ३ दिने सूचना निकालेर स्थान खाली गर्न अनुरोध गर्दा पनि न्युन भाडा तिरेर बसेका व्यवसायी त्यहाँबाट हट्न मानेका थिएनन् । कतिपय व्यवसायीले आफै टहरा निर्माण गरेका कारण नगरपालिकालाई भाडा नतिरी बसेका थिए । उनीहरुले पनि नगरपालिकाको अनुरोधलाई बेवास्ता गरेका थिए । 

बिर्तामोड उद्योग वाणिज्य संघ टहरा हटाउने नगरपालिकाको योजनामा सहमत थिएन । आर्थिक मन्दीका कारण व्यवसाय धरासयी भएको समयमा त्यहाँका व्यवसायीलाई बिस्थापित गर्न नहुने कुरामा उद्योग वाणिज्य संघको जोड थियो । नगरपालिकाको टहरा हटाउने अभियानलाई वाणिज्य संघको समर्थन नभएपनि गएको जेठ ८ गते नगरपालिकाले सामानसमेत झिक्न नदिई टहरा हटायो । 

एकै पटक १० वटा डोजर प्रयोग गरेर टहरा भत्काउन थालेपछि कतिपय ब्यवसायीहरुले हतार हतार गरेर आफ्ना सामान बाहिर निकालेका थिए । ठुलो संख्यामा प्रहरी, प्रशासन, नगरपालिकामा नेतृत्व गरेको दल नेकपा एमालेको बिभिन्न भातृ संगठन लगायत जनप्रतिनिधिको बाक्लो उपस्थितिका कारण व्यवसायीले प्रतिकार गर्न सकेका थिएनन् । उनीहरुले केही सामान बाहिर निकालेपनि अधिकांस व्यवसायीको लाखौं मुल्यको सामान नष्ट भएको थियो । कतिपयको सामान चोरी समेत भएको थियो । 

नगर विकास कोषको ९० प्रतिशत लगानीमा बहुउद्देश्यीय ब्यवसायिक भवन निर्माण गर्ने चर्चा त्यसबेला चलेको थियो । बिर्तामोडको मध्य भागमा पर्ने त्यस स्थानमा व्यवसायिक भवन निर्माण हुन सके ‘टहराको शहर’ बाट आधुनिक शहरमा परिणत हुने आशा अधिकांस स्थानीयको थियो । 

नगरपालिकाले जमिन खाली गराएपछि त्यहाँ जस्ता लगाएर घेराबारा गरिएको छ । अतिक्रमण हुनसक्ने कुरालाई मध्यनजर गरेर जस्ता प्रयोग गरेर घेराबारा गरिएको हो । सो स्थानका टहराका अवशेषहरु हटाएर सम्याउने काम भएको छ । त्यसबाहेक नगरपालिकाले त्यसबेला चर्चा गरेजस्तो भवन बनाइहाल्ने काम शुरु गरेको छैन । 

नगरपालिकाले त्यहाँ रहेका व्यवसायीको असहमतिका बाबजुत पनि टहरा हटाएपछि त्यहाँ रहेका झण्डै २०० व्यवसायी बिस्थापित भएका थिए । त्यहाँबाट बिस्थापित केही ब्यवसायीले उत्तरतर्फ नयाँ बुधबारे बजार, पुर्वमा बुधबारे बजार, पश्चिममा हाम्रो बजार नाम दिएर सामुहिक रुपमा व्यवसाय शुरु गरेका छन् । बिस्थापित कतिपय ब्यवसायीहरु अझै नयाँ स्थानमा व्यवसाय सुरु गर्नसक्ने अवस्थामा छैनन् । 

बिर्तामोड नगरपालिका वडा न ५ का अध्यक्ष रोहित प्रसाईले माटो परीक्षण पछि अहिले नक्सा बनाउने काम भइरहेको जानकारी दिए । ‘तीनवटा नक्सा बनाउनु पर्दाे रहेछ, नक्सा बनाउने काम भइरहेको छ, फाईनल भएको छैन, प्रसाईले भने–‘नक्सा फाईनल भएपछि ठेक्का प्रक्रिया शुरु हुन्छ ।’ प्रसाईँले नगर विकास कोषले लगानी गर्न इच्छुक भएको पत्र पठाएकोे हुनाले भवन निर्माण हुने कुरामा बिश्वस्त रहेको बताए ।