बिर्तामोड । विद्युतीय सवारी साधनप्रति यातायात व्यवसायीको विश्वास बढ्दै गएपछि झापाको बिर्तामोडमा पनि साइन रे मोटर्स (एसआरएम) र स्काइ वेल ब्राण्डका गाडी बिक्री सुरु गरिएको छ । 

आधिकारिक बिक्रेता विराट अटो ट्रेडिङ प्रालिले चीनमा उत्पादित दुई मोडलका विद्युतीय गाडी बिक्री सुरु गरेको जनाएको छ । ११ देखि २३ वटा सिट क्षमता भएको उक्त विद्युतीय गाडी सोरुमको पुराना यातायात व्यवसायी कुलप्रसाद ओडारी र पूजा कन्ट्रक्सन नेपाल प्रालिका सिइओ विवेक विजुक्छेले रिबन काटेर उद्घाटन गरे । 

पूजा कन्ट्रक्सन विद्युतीय सवारी साधनको नेपालको आधिकारिक विक्रेता विशाल ग्रुपमातहत रहेको छ । आधिकारिक बिक्रेता विराट अटोका सञ्चालक देवराज प्रसाईले आजको आवश्यकतालाई मध्यनजर गर्दै व्यवसायीको माग र उपभोक्ताको हक हितलाई ध्यानमा राखी एसआरएम र स्काइ वेल ब्राण्डका विद्युतीय गाडी भित्र्याइएको बताए । समयको मागले इन्धनबाट चल्ने सवारीसाधनलाई विस्थापित गर्ने दाबी गरेका उनले विदेशी सवारी आयातलाई रोक्न, मुलुकको अर्थतन्त्र सुदृढ बनाउन, वातावरणमैत्री सवारीको प्रयोग र विदेशी मुद्रा बाहिर पठाउन विद्युतीय गाडीको प्रयोगले मद्दत गर्ने उल्लेख गरे । 

सार्वजनिक यातायात प्रबुद्ध समूह नेपालका संरक्षक होमप्रसाद अधिकारीले वातावरण र मानव स्वास्थ्यमैत्री विद्युतीय गाडी अहिलेसम्मकै राम्रो भएको दाबी गरे । उनले ब्रेक सिस्टम र बढी माइलेज दिने गाडी पूर्वबाट बिक्री गर्न सुरु गरेको उनले सुनाए । कार्यक्रममा पूजा कन्ट्रक्सनका विजुक्छेले वातावरणमैत्री, सुरक्षित र आरामदायी यात्राका लागि यो गाडी होटल, स्कुल, हस्पिटल, कर्पाेरेट अफिस र ट्राभल एजेन्सीका लागि अति उपयुक्त भएको दाबी गरे । 

यसैगरी, बिर्तामोड ५ का वडाध्यक्ष रोहित प्रसाईले विद्युतीय गाडी वातावरणमैत्री भएकाले व्यवसायीले सुविधा लिनसक्ने बताए । एकपटक ब्याट्री चार्ज गरेपछि ३ सय किलोमिटर गुड्ने, ४५ मिनेटमै ८० प्रतिशत चार्ज हुने, प्रतिघण्टा १ सय किलोमिटर स्पीड भएको यस विद्युतीय गाडीको ग्राउण्ड क्लियरेन्स १८० एमएम भएको कम्पनीले जनाएको छ । 

अहिले बिर्तामोडमा एसआरएम ब्राण्डको ११ सिटको ४५ लाख ५० हजार र स्काइ वेल ब्राण्डको ५८ लाख ८० हजारमा बिक्री भइरहेको आधिकारिक बिक्रेता विराट अटो ट्रेडिङ प्रालिका सञ्चालक प्रसाईले जानकारी दिए । प्रतिकिलोमिटर २ रुपैयाँमात्र खर्च लाग्ने दाबी गरिएको यस गाडीको खरिदमा ५ वर्षको ग्यारेन्टी रहेको छ भने नबिल बैंकमार्फत फाइनान्सको व्यवस्था गरिएको बताइएको छ । सोही कार्यक्रममा स्वदेशी उद्योग बढाऔँ, विदेशी मुद्रा बचाऔँ भन्ने नाराका साथ वर्तमान अवस्थामा विद्युतीय गाडीको प्रवेश र चुनौती, राष्ट्रिय हितमा विद्युतीय गाडी या इन्धन गाडी विषयक अन्तरक्रिया पनि गरिएको थियो ।