बिर्तामोड । बिद्यालय जस्तो संवेदनशिल स्थानमा प्रज्वलनशिल पदार्थ हाइड्रोजनको प्रयोग गर्दापनि सम्बन्धित निकायले बेवास्ता गरेको भन्दै अखिल क्रान्तिकारीले ध्यानाकर्षण भएको जनाएको छ । 

अखिल क्रान्तिकारी झापाका अध्यक्ष रञ्जन धमलाले बिज्ञप्ती जारी गर्दै बिर्तामोड नगरपालिका–७ को बेल्स मोडल स्कुलमा हाइड्रोजन ग्यास सिलिन्डर विस्फोट भएर एकजना भारतीय नागरिक गम्भिर घाइते भएकोप्रति ध्यानाकर्षण भएको जनाएका छन् । घटनामा सोही बिद्यालयमा अध्ययनरत एक छात्रासमेत सामान्य घाइते भएकी थिएन् ।  

‘विद्यालय जस्तो संवेदनशील क्षेत्रमा हाइड्रोजन जस्तो प्रज्जवलनशील पदार्थको खुला प्रयोग गरिनु अत्यन्तै जोखिमपूर्ण हुने कुरामा सम्बद्ध सबै पक्षको ध्यानाकर्षण हुन आवश्यक छ, बिज्ञप्तीमा भनिएको छ–‘बालबालिकाहरुलाई सुरक्षित, बालमैत्री ढंगले शिक्षण सिकाइ गरिनुपर्ने विद्यालयमा नै अति प्रज्जवलनशील पदार्थको खुल्ला र असुरक्षित प्रयोगले यस्तो घटना घट्नुलाई सामान्य रुपले लिन सकिन्न । उक्त घटना विद्यालयमा विद्यार्थीहरु उपस्थित भएको समयमा भएको भए त्यसले निम्त्याउने क्षतिको आँकलन समेत गर्न सकिन्न ।’

बिद्यालयमा हुने उत्सबका समयमा हाइड्रोजन ग्याँसको प्रयोगलाई रोक लगाउनुपर्ने धारणा क्रान्तिकारीले राखेको छ  । ‘विश्वका विभिन्न मुलुकहरुमा हाइड्रोजन ग्यास विष्फोटबाट क्षति भएपश्चात हाइड्रोजन बेलुनको प्रयोग नै प्रतिबन्धित गरिएको छ, अध्यक्ष धमलाले भने–‘शिक्षा प्रदान गर्ने विद्यालयले बालबालिकामा सम्भावित जोखिम हुन सक्ने अवस्थाको अध्ययन र पूर्व लेखाजोखा नगर्नाले विद्यालयको गम्भिर लापरवाही देखिने बिषयलाई नजरअन्दाज नगर्न अनुरोध गर्दछौं ।’

स्कुलमा भएको उक्त घटनाको पुनरावृत्ति हुन नदिन क्रान्तिकारीको माग छ । बालबालिका आवागमन हुने ठाउँहरुमा अनिवार्य बाल संरक्षणका मापदण्डहरु पालना गर्ने व्यवस्था गराउन क्रान्तिकारीले झापाका सबै स्थानीय तहहरुलाई गम्भिर ध्यानाकर्षण गराएको छ । उक्त घटनाको सुक्ष्म अनुसन्धान गरी दोषीलाई कारवाही गर्न, घाइतेहरुको उपचारको उचित प्रबन्ध गर्न तथा यस प्रकारको प्रज्वलनशिल पदार्थको प्रयोगलाई पूर्णतः प्रतिबन्ध गर्न प्रशासनसँग माग गरेको छ ।

यता बिर्तामोड नगरपालिकाले पनि बिष्फोटक पदार्थ प्रयोग नगर्न नगरभित्रका बिद्यालयलाई निर्देशन दिएको छ । नगरका प्रशासकीय अधिकृत बिनोद न्यौपानेले सूचना जारी गर्दै  उत्सबमा बिद्यार्थीहरुद्धारा निर्माण गरिएका सामग्रीको प्रयोग गर्न सुचित गरेका छन् । कुनै बिद्यालयले उत्सबको नाममा बिस्फोटक पदार्थको प्रयोग गरेर जनधनको क्षति भए आफै जिम्मा लिनुपर्ने सूचनामा जनाइएको छ ।