बिर्तामोड । सरकारको १०१ औं गन्तब्य सुचिमा सुचिकृत झापाको बिर्तामोड–७ मा रहेको सहिद नेत्र पार्क सञ्चालनका लागि श्रमदान अभियान सुरु गरिएको छ । 

सरकारको २ करोड लगानीमा निर्माण गर्न सुरु गरिएको सहिद पार्क केही बर्षदेखि संरक्षणको अभावमा खण्डहर बनेको छ । २२ बिगाहा क्षेत्रफलमा रहेको भुटानी शरणार्थी शिविर रहेको सो स्थानलाई सरसफाई गरी तत्काल पर्यटकीयस्थलका रुपमा विकास गर्न श्रमदान अभियान सुरु गरिएको हो । 

सरकारले दुई करोड बढी लगानी गरेको सो स्थानको अधिकांस संरचना काम नलाग्ने अवस्थामा पुगेको समयमा श्रमदान मार्फत पार्क सञ्चालन गर्ने योजना अघि बढाइएको हो । बिर्तामोड नगरपालिका वडा न ७ को सक्रियतामा सुन्दर निचाझोडा सामुदायिक बन उपभोक्ता समुह, बिर्तामोडका राजनीतिक दल, संघ संस्था बिद्यार्थी लगायतको सहभागितामा एक सातासम्म श्रमदान अभियान सञ्चालन हुने वडाध्यक्ष कृष्णप्रसाद खरेलले बताए । 

खरेलले राज्यको ठुलो लगानी खेर जाने अवस्थामा पुगेकाले त्यसको संरक्षणका निम्ति स्थानीय सरोकारवाला स्वत स्फुर्त लागि परेको बताएका छन् । कोशी प्रदेशकै व्यापारिक केन्द्रका रुपमा रहेको बिर्तामोडका नागरिक प्रत्येक बर्ष बनभोज लगायतका कार्यक्रम गर्न अन्य पालिका जानुपर्ने बाध्यता छ । यसै बर्षदेखि बिर्तामोडमै उत्कृष्ठ गन्तब्यका रुपमा सहिद नेत्र पार्क सञ्चालन गर्ने योजना रहेको उनले बताए । 

यसैबर्ष शौचालय, खानेपानी र बिजुली बत्ती उपलब्ध गराउने लक्ष्य लिएको सामुदायिक बनका अध्यक्ष्ँ बद्री प्याकुरेलले बताए । उनले जंगली हात्तीको जोखिम र।हने त्यस स्थानलाई ईलेक्ट्रो फेन्सिङ गरेर सुरक्षित गर्ने तयारी रहेको जानकारी दिए । चिल्ड्रेन पार्कदेखि स्विमिङ पुल, पोखरी र शान्त स्थान भएका कारण जो कसैको मन लोभ्याउने सो स्थानको संरक्षण गर्न सके स्थानीयले रोजगारीसमेत प्राप्त गर्न सक्ने भएकाले अहिले श्रमदानमा सबै लागिपरेको अध्यक्ष प्याकुरेलले बताए ।