बिर्तामोड । कोशी प्रदेशको सबैभन्दा ठुलो कृषि बजार ‘कृषि थोक बजार’ बिर्तामोडमा नयाँ नेतृत्वको चयनका लागि निर्वाचन हुने भएको छ । माघ २० र २१ गते अधिवेसन गर्ने कार्यक्रम तय भएको जनाएको छ । 

IMG-20240128-WA0014

बिर्तामोड उद्योग वाणिज्य संघको फागुन १४ गते हुने निर्वाचनको चर्चा भइरहँदा शहरभित्रकै यो नेतृत्व चयन प्रक्रिया गुमनाम छ । कृषि थोक बजारमा नेपालको पुर्वी क्षेत्र, भारत, बंगलादेश, चीन, भुटान, थाइल्याण्ड लगायतका देशबाट फलफुल र तरकारी आयात तथा बिक्री वितरण हुँदै आएको छ । 

तीनबर्ष अघि भएको बजारको अधिवेसनले कमलप्रसाद पौडेललाई अध्यक्ष चयन गरेको थियो । पौडेल नेतृत्वको समितिको तीन बर्षे कार्यकाल समाप्त भएपछि नयाँ नेतृत्वको चयनको सरगर्मी सुरु भएको छ । नयाँ नेतृत्वको लागि आधा दर्जनले लविङ सुरु गरेको जनाईको छ । 

पौडेल नेतृत्वको समितिले बजार परिसरमा सिसि क्यामेरा जडान, चिस्यान केन्द्र स्थापना, ढल निर्माण गर्नुका साथै सरसफाई गर्ने कार्यलाई प्रभावकारी रुपमा सञ्चालन गरेको थियो । बजारको विकासको लागि समिति सक्रिय रहेको छ । यही समितिको नयाँ नेतृत्व चयन हुन लागेको हो । 

नेतृत्व चयनका लागि झापाका ८ स्थानीय तहबाट ५ जनाका दरले कृषक प्रतिनिधि सहभागी हुने छन् । कृषिथोकमा कन्काई, बिर्तामोड, भद्रपुर, मेचीनगर, अर्जुनधारा नगरपालिका र बाह्दशी, हल्दीबारी, र बुद्धशान्ति गाउँपालिकाका छनौट भएका प्रतिनिधिमध्येबाट मतदाता बन्ने व्यवस्था रहेको छ । बजारभित्रका २९५ व्यवसायी र ४० जना कृषक प्रतिनिधिमध्येबाट नयाँ नेतृत्व चयन हुने छ ।  

संघको बिधान अनुसार कृषकबाट तीन र व्यवसायी मध्येबाट तीन जना सदस्य निर्वाचित हुने छन् । निर्वाचित छ जनाबाट व्यवस्थापन समितिको अध्यक्ष चयन गरिने जनाइएको छ । सदस्यका लागि धर्मबराल, ज्योती खतिवडा, खगेन्द्र महतो, रामु सिंह, ईन्द्रजित चौधरी, नथुनी शाह, हालका अध्यक्ष कमल पौडेल लगायतको नाम चर्चामा छ ।