बिर्तामोड । मेची बहुउदेश्यीय सहकारी दमकको बिर्तामोड सेवा केन्द्रले एकदिने बित्तीय साक्षरता तथा उत्प्रेरणामुलक कार्यक्रम सम्पन्न गरेको छ । 

सहकारीले नयाँ सदस्यसँग बित्तीय साक्षरता कार्यक्रम सञ्चालन गर्दै आएको छ । सोही कार्यक्रम अनुसार बिर्तामोडमा नयाँ सदस्यबीच बित्तीय साक्षरता कार्यक्रम आयोजना गरेको बिर्तामोड सेवा केन्द्रका प्रमुख दुर्गा खनालले जानकारी दिइन् । 

कार्यक्रममा सहकारीका अध्यक्ष नारायणप्रसाद भट्टराईले संस्थाको बित्तीय अवस्था, हालका गतिविधिहरु तथा आगामी योजनाका बिषयमा जानकारी गराएका थिए । भट्टराईले मेची सहकारीले सदस्यलाई दिने सुविधा, आर्थिक सुरक्षा तथा संस्थाप्रति सदस्यको दायित्वको बारेमा धारणा राखेका थिए । 

बिर्तामोड सेवा केन्द्र प्रमुख दुर्गा खनालले सेवा केन्द्रमा सहकारीको पुँजी १ करोड ८३ लाख १३ हजार ६०० पुगेको बताइन् । सेवा केन्द्रमा अहिले ११ करोड २१ लाख ४० हजार ९७७ रुपैयाँ बचत संकलन भएको तथ्यांक प्रस्तुत गर्दै खनालले ९ करोड १३ लाख ६८ हजार ४७५ रुपैंयाँ ऋण लगानीमा रहेको जानकारी दिइन् । 

१५० सदस्य सहभागी बित्तीय साक्षरता तथा उत्प्रेरणा कार्यक्रममा शिक्षा समितिका संयोजक लक्ष्मीप्रसाद दाहाल र मुख्य कार्यालयका सह–व्यवस्थापक चन्द्रप्रसाद थापा लगायतले बित्तीय अनुसासन, सहकारीमा रकम बचत र बचत परिचालन गर्ने बिषयमा सदस्यहरुलाई प्रशिक्षण दिएका थिए ।