मेचीनगर । मेचीनगर–९ धुलाबारीमा सञ्चालित इजी केयर मन्टेश्वरी होमको नवौं वार्षिकोत्सव कार्यक्रम शनिबार सम्पन्न भएको छ । धुलाबारीस्थित टाउन हलमा आयोजित कार्यक्रममा साना नानीहरुले विभिन्न प्रकारका सांस्कृतिक प्रस्तुती दिएका थिए ।

Messenger_creation_49331622-790d-4120-908f-68bfc20799bd

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राजिव प्रसाईंको अध्यक्षता तथा शैक्षिक अभियन्ता तेजप्रसाद चौलागाईंको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा अभिभावक ईश्वर घिमिरे, दिवस भण्डारी, सुभाष श्रेष्ठले मन्तव्य राखेका थिए । सोही अवसरमा विद्यालयमा रहेका सम्पूर्ण शिक्षकहरुलाई सम्मान गरिएको थियो । 

‘शिक्षासँगै सिकाउँदैछौं संस्कार हामी’ भन्ने नाराका साथ उक्त विद्यालय धुलाबारी बजारमा सञ्चालित छ । विद्यालयमा हाल १८० भन्दा बढी नानीहरुलाई असल संस्कारसँगै शिक्षा प्रदान गरिँदै आएको सञ्चालक मातृका ओडारीले बताए । 

विद्यालयकी सञ्चालिका सपना प्रसाईं ओडारीले स्वागत गरेको कार्यक्रममा साना नानीहरुको प्रतिभा हेर्नका लागि ३ सय बढी अभिभावक उपस्थित थिए । सञ्चालिका सपनाले लामो समयदेखि देशभरका विभिन्न विद्यालयका हजारौं शिक्षक–शिक्षिका तथा अभिभावकलाई बाल मनोबिज्ञान सम्बन्धी तालिम तथा परामर्श दिँदै आएकी छिन् ।