बिर्तामोड । ए डिभिजन लिग बिजेता चर्च ब्वाइज युनाइटेड क्लबले अर्ना झापा गोल्ड कपको छैटौं संस्करणमा बिजयी सुरुवात गरेको छ । नेपाल पुलिस क्लबलाई २–० गोल अन्तरले पराजित गर्दै चर्च ब्वाइजले क्वाटरफाइनलको यात्रा तय गरेको हो ।
झापा गोल्डकपमा पहिलोपटक सहभागिता जनाएको चर्च ब्वाइजले पहिलो खेलमा नतिजा आफ्नो पक्षमा पार्न सफल भएको छ । पुलिस भने यसअघिका ५ वटै संस्करणमा पहिलो चरणमै घर फर्किएको थियो । पुलिस यो पटक पनि पहिलो चरणमै घर फर्किन बाध्य बन्यो ।
आइतबारको खेलमा दुबै टिमको मिडफिल्ड चल्न सकेन । निर्धारित ९० मिनेटमा पुलिसले तीन र चर्च ब्वाइजले एउटा मात्र डेञ्जर मुभ बनाउन सकेको थियो । तर, डिफेन्स लाइन र गोलकिपरको केही गल्तीका कारण पुलिस दबाबमा परेको थियो ।
खेलको ५३ औं मिनेटमा चर्च ब्वाइजका अवयोमी अबयोमीलाई पुलिसका गोल रक्षक सञ्जित श्रेष्ठले पेनाल्टी एरियामा फाउल गरेका थिए । त्यसपछि पाएको पेनाल्टीलाई अबयोमीले गोल गर्दै टिमलाई १–० को अग्रता दिलाए ।
खेलको ७८ औं मिनेटमा अबयोमीको क्रस पासमा समिर तामाङले गोल गर्दै खेलमा अग्रता दोब्बर बनाए । पेनाल्टी एरियामा अनमार्क रहेका रहेका तामाङले दायाँ बार च्याप्दै गरेको प्रहारले जाली चुमेको थियो ।
खेलको ६५ औं मिनेटमा अबयोमीले अग्रता दोब्बर गर्ने अवसर गुमाएका थिए । पेनाल्टी एरियामा पाएको बललाई उनको प्रहार पोष्ट नजिकबाट बाहिरिएको थियो ।
खेलको ४३ औ मिनेटमा पुलिसका पेनाल्टी एरिया नजिकै पुलिसका उज्वल राइलाई चर्च ब्वाइजका खेलाडीले लडाएपछि फ्रि किक पुलिसले फ्रि किक पाएको थियो । सञ्जिव लामाले गरेको फ्रि किक बिपक्षी गोृल रक्षक दीप कार्कीले पञ्च गरेर बचाए । ६९ औ मिनेटमा पेनाल्टी एरियामा पाएको अवसर पुलिसले खेर फालेको थियो । बिकास बिकको पावरफुल प्रहार पोष्टमा लागेर रिबाउन्स भएको थियो । रिवाउन्स बललाई आशिस राईले प्रहार गर्दा बारको नजिकैबाट बाहिरिएपछि पुलिस बराबरी गर्ने अवसरबाट बञ्चित भएको थियो ।  
खेलपछि भएको पोष्ट म्याच कन्फ्रेनसमा बोल्दै बिजेता चर्च ब्वाइजका प्रशिक्षक रुविन राईले नयाँ मैदानमा खेल्दा अपेक्षाकृत स्कोर हुन नसकेको बताए । उनले लिग बिजेताको स्तरले प्रतियोगितामा नतिजा नआउनु खेलको स्तर खुम्चिएको स्विकारेका छन् ।
पुलिसका प्रशिक्षक चेतन घिमिरेले स्कोररको कमीका कारण पतियोगितामा नतिजा नआएको बताएका छन् । उनले नयाँ खेलाडीलाई अवसर दिंदा अनुभवको कमीसमेत देखिएको बताए ।
खेलको म्यान प्लेयर अफ द म्याच चर्च ब्वाइजका अवयोमी घोषित भए । उनले ११ हजार रुपैंयाँ पुरस्कार पाए । सोमबार हुने पहिलो क्वाटरफाइनल खेलमा सशस्त्र प्रहरीको एपीएफ एफसी र सर्लाहीको बागमती युवा क्लबबीच हुनेछ ।

फागुन २८ गते हुने गोल्डकपको फाइनल खेलको विजेताले नगद १३ लाखसहित आकर्षक ट्रफी पाउँदा उपविजेताले नगद ७ लाखमा चित्त बुझाउनु पर्नेछ । गोल्डकपमा झापा ११ एफसीसहित १० टोलीको सहभागिता रहेको छ ।