ताप्लेजुङ । फुङलिङ नगरपालिका-९ हाङदेवाको हिरिया खोलाले मे १ ज २५७९ नम्वरको बोलेरो गाडी बगाएको छ । फुङलिङ नगरपालिका-११ फुरुम्वुको मित्लुङबाट सदरमुकामतर्फ आउँदै गरेको समयमा गाडी बगाएको हो ।
खोलाभित्र पसेपछि गाडीको स्टार्ट बन्द भएकाले र त्यहीबेला आएको लेदोसहितकाे बाढीले बगाएर १५ मिटर तल पुर्याएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रहरी निरीक्षक कमल कुमार लुङगेलीले जानकारी दिए ।
गाडीमा रहेका चालक राजकुमार पौडेल सकुशल छन् । पौडेलका अनुसार खोलाले नै गाडी किनारामा पुर्याएको थियो । यता, सदरमुकाम फुङलिङबाट पाथीभरा जाने मोटरबाटोमा झरेको पहिरोले को १ झ २९५८ नम्वरको बोलेरो गाडी पुरेकाे छ ।
गाडीलाई जेसीबीको सहयोगमा निकालिएको डिएसपी रवि रावलले जानकारी दिए । चालक कुमार भट्टराई भनें सकुसल रहेका छन् । गाडीमा चालक मात्रै रहेका थिए । यहाँको पहिरोले पाँचवटा बिजुलीका पोल, काफ्लेपाटीबाट सेवारो चोकसम्म ल्याएको खानेपानीको तीन क्वायल पाइपमा समेत पूर्णरुपमा क्षति गरेको स्थानीयले बताएका छन् ।
यहाँको सार्वजनिक शौचालय र आसपासमा रहेका घरहरु समेत पहिरोको जोखिममा रहेको प्रहरीले जनाएको छ । जोखिमका घरहरुलाई सुरक्षित हुन सल्लाह दिएको रावलले बताए। अवरुद्ध सडक खुलाउन नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली घटनास्थलमा रहेको र सरोकारवाला निकायसँग पनि छलफल भइरहेको रावलले बताए । ताप्लेजुङमा वुधबारदेखि लगातार वर्षा भइरहेको छ ।



















