बिर्तामोड । बिर्तामोड नगरपालिकाले गरिबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम अन्तर्गत आयोजना गरेको विभिन्न सिपमुलक तालिम सम्पन्न भएको छ । मेघा कम्लेक्स स्थित ग्लोबल लुक्सको हलमा आयोजित कार्यक्रममा व्युटी पार्लर, ढाका बुनाई र सिलाई कटाई तालिमको समापन गरिएको हो । 
तालिममा सहभागी प्रशिक्षार्थीहरुलाई नगर प्रमुख पवित्रा महतारा प्रसाईले प्रमाण पत्र हस्तान्तरण गरेकी छन् । तालिम वडा नम्बर ५ का विभिन्न क्षेत्रमा २ महिनासम्म सञ्चालन भएको थियो । तालिममा व्यटी पार्लर तर्फ १५ जना, ढाका बुनाईमा ६ जना र सिलाई कटाईमा पनि ६ जनाको सहभागिता रहेको थियो । व्युटीपार्लरमा रश्मी रसाईली र संगिता रसाईली, ढाकामा मंगलमाया केरुङ, सिलाई कटाईमा सर्मिला अधिकारीले दिएका थिए ।  
कार्यक्रममा बोल्दै नगर प्रमुख पवित्रा महतारा प्रसाईले सिपलाई उत्पादनसंग जोडेर रोजगारी श्रृजना गर्न सवैलाई आग्रह गरेकी छन् । सिपलाई व्यवसायिक बनाएर उद्योग स्थापना गरि अन्यलाई पनि रोजगारी दिनु पर्नेमा उनकाे जोड थियो । यस्तै नगर उप प्रमुख नगेन्द्र प्रसाद संग्रौलाले सिप सिकेपछि यसलाई सदुपयोग गर्नु पर्ने बताए । 
 यस्तै कार्यक्रममा बोल्दै वडा नम्बर ५ का अध्यक्ष रोहित प्रसाईले सिकेको सिपलाई स्वदेशमै सदुपयोग गर्न आग्रह गरे । लगानी र मिहेनत गरे यहिँ प्रतिफल प्राप्त हुने उनकाे धारणा थियो । तालिम समापन कार्यक्रममा कार्यपालिका सदस्य निर्मला गजमेरको पनि उपस्थिति थियो ।
नगर प्रमुख प्रसाईले तीन वटै विधाका प्रशिक्षकहरुलाई प्रशंसा पत्र प्रदान गरेकी थिइन् । नगरपालिकाले ढाका बुनाईमा सहभागी प्रशिक्षार्थीहरुको लागि लागत साझेदारीमा प्रविधिसमेत प्रदान गरिने लघु उद्यम विकास कार्यक्रमकी सहजकर्ता चनिमाया तामाङले जानकारी दिइन् ।