बिर्तामोड । झापाको बिर्तामोडका व्यवसायीले यहाँका व्यवसायीसँग धेरै राजस्व उठाउन सकिने उपायका बारेमा नगरप्रमुखलाई सुझाव दिएका छन् ।
बिर्तामोड उद्योग वाणिज्य संघले आयोजना गरेको ‘मेयरसँग व्यवसायी’ विषयक अन्तरक्रिया कार्यक्रममा व्यवसायीले अहिले उठ्दै आएको राजस्वको तुलनामा कैयौं गुणा बढी कर उठाउने विषयमा नगरप्रमुख पवित्रा महतरा प्रसाईंलाई सुझाव दिएका हुन् ।
बिर्तामोड उद्योग बाणिज्य संघमा करिब ६ हजार व्यवसायी आबद्ध रहेको र नगरपालिकामा झण्डै थप ९ हजारको हाराहारीमा व्यवसायी रहेकाले उनीहरुलाई करको दायरामा ल्याउन सके उल्लेख्य राजस्व सङकलन हुने उनीहरुको भनाइ थियो । “अहिलेको भन्दा करको दर घटाएर र सबै व्यवसायीलाई व्यवसाय दर्ता गर्न सकिने वातावरण सिर्जना गर्न सके कर संकलन बढ्छ’, बिर्तामोड उद्योग बाणिज्य संघका अध्यक्ष राजु न्यौपानेले भने, ‘नगरपालिकामा दर्ता प्रक्रिया झन्झटिलो हुँदा व्यवसायी दर्ता गर्न जान सकेका छैनन् ।’
एउटै बाट धेरै कर ठाउने भन्दा पनि करको दर घटाउनुपर्ने र दायरा बढाउनु पर्ने व्यवसायीको सुझाव छ । घर बहाल कर घर धनीले तिर्नुपर्नेमा व्यवसायीलाई थोपरेको व्यवसायीको गुनासो छ । ‘जसरी एउटा बसमा यात्रा गर्दा यात्रुले भाडा मात्र तिर्छ, व्यवसायीले यातायात व्यवस्था कार्यालयमा गएर गाडीको कर तिर्छ, त्यसरी नै घर धनीले घर बहाल कर तिर्नुपर्छ’, अध्यक्ष न्यौपानेले भने ।
कार्यक्रमका सहभागी अधिकांश व्यवसायीले नगर प्रमुखलाई स्थानीय सरकारले व्यवसायीको संरक्षण गर्नुपर्ने र व्यवसायीहरुको हितमा कार्यक्रम ल्याउनु पर्नेमा जोड दिएका थिए ।
कार्यक्रममा बोल्दै अलौंची व्यवसायी महासंघका केन्द्रीय अध्यक्ष निर्मल भट्टराईले कृषि जन्य वस्तुमा संघीय सरकारले छुट दिए पनि स्थानीय सरकारले निर्यातमा कर लिएको र त्यसलाई हटाइनु पर्ने माग राखे ।
महिला उद्यमी पार्वता खरेल विमलीले बिर्तामोडलाई प्लाष्टिक मुक्त बनाइनु पर्ने र महिला व्यवसायीलाई स्थानीय सरकारले उद्यमशीलतामा जोड्दै लानु पर्ने धारणा राखिन् ।
झापा गोल्डकपका अध्यक्ष विनोद वस्नेतले ब्यवसायीको संरक्षण गर्दै उनीहरुको सुरक्षाका लागि सडक किनारमा सडक बत्ती जडान गर्नु पर्ने बताए ।
त्यस्तै अग्रसेन भवन बिर्तामोडका अध्यक्ष मोहन मित्तलले करका क्षेत्रमा नगरपालिका लचिलो बन्नु पर्ने र सबै ब्यवसायीलाई करको दायरमा ल्याउनु पर्ने बताए । कर तिर्ने व्यवसायीलाई स्थानीय सरकारले सम्मान जनक व्यवहार गर्नु पर्ने उनको धारणा छ ।
कार्यक्रमका प्रमुख अतिथि बिर्तामोड नगरपालिका प्रमुख पवित्रा महतरा प्रसाईले व्यवसायीले उठाएका प्रश्नको जवाफ दिँदै व्यवसायीहरुका उचित मागलाई सम्बोधन गर्ने बताइन् । उनले नगरको चौतर्फी विकासका लागि सबैसँग सहकार्य गर्दै अघि बढ्ने बताइन् ।
बिर्तामोड उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष राजकुमार घिमिरे राजुले स्वागत गरेको कार्यक्रमको सञ्चालन महासचिव कुशल खतिवडाले गरेका थिए ।
कार्यक्रममा संघका पूर्व अध्यक्ष राजेन्द्रकुमार थापा, बलराम कार्की, व्यवसायी गणेश पौडेल, ओमकृष्ण बिमली लगायतले आ–आफ्नो धारणा राखेका थिए ।




















