बिर्तामाेड । बिर्तामोडदेखि भद्रपुर जाने सडकखण्ड निर्माणमा ढिलासुस्ती भएको भन्दै स्थानीयहरुले साे सडक बन्द गरेका छन् । बिर्तामाेड नगरपालिका-८ का वडाध्यक्ष अजय काकर्कीकाे नेतृत्वमा बिर्तामोड–८ देउनियामा सडक बन्द भएकाे हाे ।
बुधबार बिहानदेखि सडकमा बाँस र ढुङ्गा राखेर उनीहरुले सडक अवरुद्ध शुरु गरेका थिए । बुधबार दिउँसो ४ बजेदेखि प्रहरीले अवरोध हटाएकोमा आज विहानदेखि स्थानीयहरुले फेरि अवरोध गरी सवारीसाधन चल्न दिएका छैनन् । सडक निर्माणको कार्यमा ढिलासुस्ती भएको, धुँवा धुलोले दैनिक जीवनयापन कष्टकर भएको भन्दै स्थानीयहरुले चक्काजाम गरेका हुन् । सडक निर्माण नभएसम्म चक्काजाम जारी रहने वडाध्यक्ष कार्कीले बताए ।
यसैबीच सडक डिभिजन कार्यालय दमकले राष्ट्रिय राजमार्ग यसरी बन्द हुनु गंभीर विषय भएको बताएको छ । यसको शिघ्र समाधान गर्न आवश्यक रहेको भन्दै सरोकारवाला पक्षसंग सडक मर्मत तथा कालोपत्रे कार्यको आगामी योजनाको सन्दर्भमा आज छलफल गर्नका लागि प्रतिनिधि पठाइदिन ठेक्का लिने निर्माण कम्पनी काठमाडौंको कन्टेक प्रालिलाई पत्र पठाइएको डिभिजन प्रमुख सुरेश पौडेलले जानकारी दिए ।
चार लेनको सडक निर्माणमा ढिलासुस्ती हुँदा हिउँदमा धुलो र अहिले वर्षायाममा हिलाम्मे सडकका कारण जनताले सास्ती झेल्दै आइरहेका छन्। सो सडकअन्तर्गत भद्रपुरको देउनियाँ पुलदेखि लेखनाथ चोक हुँदै भैरव चोकसम्म चार लेनको सडकको ठेक्का लागेपनि अझै काम सुरु भएको छैन ।
सो सडक निर्माणको ठेक्का काठमाडौंको कन्टेक प्रालिले करिब ६० करोड रुपैयाँमा लिएको हो । २०७७ माघ ६ गते ठेक्का सम्झौता गरेको निर्माण कम्पनीले ३० महिनामा काम सम्पन्न गर्नुपर्ने सम्झौता रहेको थियो। सो अवधिमा कम्पनीले बिर्तामोडदेखि देउनियासम्मको सडक खण्ड पनि निर्माण सम्पन्न गर्न सकेको छैन । दुई पटक म्याद थप गरिसकेकाे निर्माण कम्पनीले ४० प्रतिशत मात्र काम सम्पन्न गरेको सडक डिभिजन कार्यालय दमकका प्रमुख पौडेलले बताए।