बिर्तामोड । टोस्टमास्टर्स इन्टरनेशनलको जिल्ला ४१ अन्तर्गतको झापा टोस्टमास्टर्स क्लबले आफ्नो तेस्रो वार्षिक कार्यक्रम ‘सिम्फोनी ३.०’ आयोजना गरेको छ । 

टोस्टमास्टर क्लब एक गैर नाफामुखी शैक्षिक संस्था हो जसले सार्वजनिक रुपमा बोल्न र नेतृत्व कौशल सिकाउँछ । कार्यक्रममा एरिया के (३) निर्देशक सन्ध्या राठीको उपस्थितिमा सम्मान गरिएको थियो । 

कार्यक्रममा नयाँ कार्यसमिति समेत चयन गरिएको थियो । क्लबको अध्यक्षमा मनोज गोयल, शिक्षा उपाध्यक्ष एकता बंसल, सदस्य उपाध्यक्ष रजत साहेवाला, जनसम्पर्क उपाध्यक्ष विनिता गोयल, सचिव टेकनाथ वाग्ले, कोषाध्यक्ष बुद्धि तिवारी र सर्जेन्ट एट आर्मस नवीन मित्तल रहेका छन् । 

क्लबका चार्टर अध्यक्ष टीएम विनिता गोयलले ६ जना नयाँ सदस्यलाई मनोनयन गरेका थिए । कार्यक्रममा वार्षिक अवार्ड, विशेष प्रस्तुति, लक्की ड्र, सरप्राइज गिफ्ट ह्याम्पर र स्वादिष्ट हाई चिया राखिएको थियो । निवर्तमान अध्यक्ष पुष्पाञ्जली सिन्हाले प्रतिष्ठित गोल्डेन गेभेल र हल अफ फेम अवार्डबाट क्लबका चार्टरदेखि निरन्तर उत्कृष्ट प्रदर्शनको प्रशंसा गरेकी थिइन् ।

नवनिर्वाचित अध्यक्ष मनोज गोयलको नेतृत्वमा क्लबले आफ्नो विरासतलाई अगाडि बढाउने लक्ष्य राखेको छ । आफ्नो सम्बोधनमा गोयलले व्यक्तिगत सदस्यहरूको वृद्धि र कार्यशालाहरू, प्रशिक्षण सत्रहरू र अन्य विभिन्न कार्यक्रमहरू मार्फत क्लबको समग्र गुणस्तर र सदस्यहरूको अनुभव सुधार गर्न क्लबको प्रतिबद्धतामा जोड दिएका थिए ।

टोस्टमास्टर्स आन्दोलन नेपालमा सन् १९९१ मा काठमाडौं टोस्टमास्टर्स क्लबबाट सुरु भएको थियो । हाल, नेपालभर ६० भन्दा बढी क्लबहरू छन् । जसमा १,००० भन्दा बढी सदस्यहरू राम्रो सञ्चार क्षमता र नेतृत्व विकासमा अगाडि छन् ।