झापा । भारतको कोलकतामा एकजना चिकित्सककाे बलात्कारपछि हत्या भएको छ। कोलकाताकाे सरकारी आरजी कार अस्पतालमा कार्यरत एक महिला चिकित्सककाे बलात्कार पछि हत्या भएकाे हो। भारतमा हत्याको विरोधमा सबै सरकारी चिकित्सकहरु आन्दोलित भएका छन् ।
अस्पतालको चौथो तलामा रहेको सेमिनार हलमा महिला चिकित्सकको बलात्कारपछि हत्या भएको अबस्थामा शव भेटिएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन्।
उक्त घटनापछि राज्यका सबै सरकारी अस्पतालका चिकित्सकहरुले दोषीलाई कडा कारबाही गर्न माग गर्दै आन्दोलन गरिरहेका छन्। आन्दोलनरत चिकित्सकहरुले सम्पूर्ण काम ठप्प पारेका छन्। अस्पतालमा डाक्टर नै सुरक्षित नभएपछि सर्वसाधारणको उपचार कसरी गर्ने भन्दै उनीहरुले आक्रोस समेत पोखेका छन्।
सीसीटीभी फुटेजको सहयोगमा प्रहरीले घटनामा संलग्न रहेको आरोपमा एक व्यक्तिलाई पक्राउ गरेको छ । प्रहरीले घटनाका दोषीलाई कडाभन्दा कडा सजाय दिने बताएको छ। तर, प्रहरीले हालसम्म आराेपीकाे नाम सार्वजनिक गरेकाे छैन ।
मुख्यमन्त्री ममता बनर्जीले मृतक चिकित्सकका परिवारलाई भेटेर दोषीलाई मृत्युदण्ड दिने आश्वासन दिएकी छन्। घटनाको छानबिन गर्न सरकारले ११ सदस्यीय समिति गठन गरेको छ।
घटनाकाे बिराेध गर्दै नेपालका सरकारी सेवामा कार्यारत चिकित्सकहरुले प्रदर्शन गरेका छन् । नेपालका चिकित्सकहरुले ३१ बर्षीय डा.मौमिता देवनाथ माथी भएकाे सामुहिक बलत्कार पछि हत्या गरेको घटनाकाे भर्त्सना गरेका छन् । मेची प्रादेशिक अस्पतालको ईमेर्जेन्सी वार्ड अगाडी डा.सुजन काफ्लेको नेतृत्वमा बिराेध प्रदर्शन भएकाे हाे । डा. मौमिताकाे परिवारमाथी न्यायको माग सहित हातमा बिभिन्न प्लेकार्ड बाेकेर उनीहरुले दाेसीलाई कारवाहीकाे माग गरेका हुन् ।