झापा । भुटानी प्रवासीहरूको संस्था ग्लोबल भुटानीज अर्गनाइजेसनले चौथो महाधिवेशनको अवसरमा भुटानी शरणार्थी शिविरमा रहेका बालबालिकाका लागि सहयोग घोषणा गरेको छ । कार्यक्रम अमेरिकाको रेनोल्ड्सबर्ग ओएचमा भएको थियो ।
बेलडाँगीका २०९ र पथरी शनिश्चरे शिविरका ९६ बालबालिकाको शिक्षामा सहयोग गर्ने घोषणा कार्यक्रममा गरिएकाे थियो । बेलडाँगीमा १० शिक्षक, १ इन्चार्ज र ३ केयरटेकर गार्ड, १ भान्छा सहायक, १ आयोजना क्षेत्र प्रबन्धक र १ स्वास्थ्य संयोजक छन् भने पथरी शनिश्चरे विद्यालयमा ५ जना शिक्षक कर्मचारी, १ प्रशासनिक सहयोग, १ केयरटेकर, १ किचन सहायक र १ परियोजना फिल्ड कर्मचारी रहेका छन् ।
संस्थाले भुटानी शरणार्थी बालबालिकालाई शिक्षा प्रदान गर्न प्रत्येक त्रैमासिकमा १६ हजार ६२६ डलर जम्मा गरेको जनाएकाे छ । संस्थाले काठमाडौंमा कार्यालय राखेकाे छ भने बेलडाँगीमा १७ र पथरीमा ९ जना कर्मचारी कार्यारत रहेका छन् ।
यसको मिशन मौलिक सहायता पहलहरू प्रदान गर्नु हो जसले प्राकृतिक प्रकोप, स्वास्थ्य सेवा असमानता, र अन्तर्राष्ट्रिय रूपमा सम्भव भएसम्म शिक्षा अभावबाट प्रभावित व्यक्तिहरूको लागि दिगो स्रोतहरूको क्रमशः निर्माण गर्न मार्गप्रसस्त गर्छ । संस्थाले आन्तरिक वा अन्तर्राष्ट्रिय रूपमा विस्थापित जनसंख्यालाई सहयाेग प्रदान गर्नमा ध्यान केन्द्रित गर्नेछ तर कुनै पनि प्रकारको संकटमा परेका व्यक्तिहरूलाई समर्थन गर्न उद्यत छ ।
संस्थाका सिइओ डीबी राईले शिविरमा भुटानी शरणार्थीहरूको लागि शिक्षा र स्वास्थ्य सेवामा ध्यान केन्द्रित गर्न आग्रह गरेका छन् । उनले मानवीय सहयोगका लागि याे परियोजनालाई सहयोग गर्न समुदायलाई अनुरोध पनि गरे । संस्थाले विपदमा राहतका लागि सहयोग गर्ने समेत बताए ।
करिब २०० भन्दा बढी व्यक्तिहरुको उपस्थिति रहेको उक्त कार्यक्रममा भ्वाइस अफ नेपाल सिजन ३ का किरण गजमेर, भ्वाइस अफ नेपाल किड्स सिजन ३ का अनुह्या तामाङ र अन्य स्थानीय कलाकारहरुको सांस्कृतिक प्रस्तुति समेत रहेको थियो । करिटास नेपालका प्रान्तीय प्रबन्धक देवेन्द्र पोखरेलको प्रमुख आतिथ्यता र स्थानीय नेताहरुको उपस्थिति थियो । याे संस्था अष्ट्रेलिया, क्यानडा, डेनमार्क, नेपाल, नेदरल्याण्ड, न्यूजिल्याण्ड, नर्वे, बेलायत र अमेरिकामा सक्रिय छ भने अमेरिकामा दर्ता भएको छ । संस्था गैरनाफामुलक हाे ।