बिर्तामोड। झापाको बिर्तामोड नगरपालिकाले बिहीबार एकै समयमा ७ वटा सडक शिलान्यास गरेको छ ।
शहरी विकास मन्त्रालयको नमुना शहर निर्माण गर्ने योजना बमोजिमको लगानीमा सडक निर्माण हुन लागेको हो । महिलाले नेतृत्व गरेका देशभरका १३ वटा स्थानीय तहलाई नमुना शहर अन्तर्गत पुर्वाधार निर्माणका लागि शहरी विकास मन्त्रालयले बजेट उपलब्ध गराएको हो ।
बिर्तामोडमा महिला मेयर भएको हुनाले नमुना शहर निर्माणको बजेट प्राप्त भएको मेयर पवित्रा महतारा प्रसाईले जानकारी दिइन् । बिर्तामोडमा अन्य स्थानीय तहको भन्दा धेरै सडक भएकाले एकै पटक सबै आयोजना निर्माण गर्न नसकिएको उनले बताइन् । उनले क्रमैसँग निर्माणको कामलाई अघि बढाइने जानकारी दिईन् ।
७ वटै आयोजनाको एकीकृत रुपमा ठेक्का दिइएको छ ।शान्ति उदेश्य निर्माण सेवाले निर्माणको जिम्मा लिएको छ । निर्माण कम्पनिका सञ्चालक नयन बरालले समयमा र गुणस्तरीय काम गर्ने प्रतिबद्वता जनाए । दुई बर्षको अवधिमा निर्माण सम्पन्न गर्नुपर्ने गरि सडक ठेक्का लागेको हो । समयमा बजेट उपलब्ध भए ६ महिनामा निर्माण सम्पन्न गर्ने प्रतिबद्वता उनले जनाए ।
शहरी विकास कार्यालयका इन्जिनियर सुरेश चौधरीका अनुसार भ्याट बाहेक ६ करोड ३० लाखको लागतमा निर्माणको लागि ठेक्का लागेको छ । १ हजार २०७ मिटर सडक कालोपत्रे र एउटा सामुदायिक भवन निर्माण हुनेछ ।