बिर्तामोड । झापाको बिर्तामोडमा भदौ-५ गतेदेखि जुत्ता चप्पल महोत्सब सञ्चालन हुने भएको छ ।
बिर्तामोडको सिटी सेन्टरमा सञ्चालन हुने महोत्सबमा नेपालका ५ वटा कम्पनीको ३ हजार मोडलका जुत्ता चप्पल बिक्रीका लागि राखिने भएको छ । आयोजक बिर्तामोड सिटी सेन्टरले आयोजना गर्ने महोत्सवको सह-आयोजक बिर्तामोड नेपाली जुत्ता घरको रहने बिर्तामोडमा पत्रकार सम्मेलन गरेर जानकारी दिइएको छ ।
'नेपाली उत्पादनको प्रवर्द्धन, हाम्रो अभियान' भन्ने नारासहित आयोजना हुने महोत्सबमा बीएफ डियर हिल, फस्ट वाक सुज, रन सुज, स्मार्ट सुज र क्रस रोड सुज गरि ५ वटा कम्पनिको २५ वटा स्टल रहने महोत्सब संयोजक होमनाथ उपाध्यायले जानकारी दिए ।
महोत्सवमा चाडपर्व लक्षित क्याजुअल सुज, स्पोर्टस सुज, पार्टी सुज, स्कुल सुज, फुटबल सुज, फुटसल सुज तथा बच्चाका सुजहरु उपलब्ध हुने उनले बताए ।
एक महिनासम्म सञ्चालन हुने महोत्सवमा १ लाख अवलोकनकर्ता आउने तथा २ करोड रकम बराबरको कारोबार हुने अपेक्षा आयोजकको रहेको छ । ती कम्पनीको संलग्नतामा भएको महोत्सब यो दोस्रो हो । यसअघि गतबर्ष पुस ९ गतेदेखि माघ १५ गतेसम्म महोत्सव आयोजना भएको थियो ।
महोत्सवमा १५ देखि ५० प्रतिशतसम्म छुट दिने तयारी रहेको आयोजकले जनाएको छ । यसका अतिरिक्त खरिदकर्तालाई विशेष उपहार दिने गरि तयारी गरिरहेको उपाध्यायले जानकारी दिए ।
खस्कदो व्यवसायलाई केहि हदसम्म उठाउन महोत्सव आयोजना गरिएको सिटी सेन्टरका सञ्चालक दिपेन्द्र राउतले बताए । उनले निकट भविष्यमा यस्तै खाले अर्को महोत्सव आयोजना गर्ने तयारि भईरहेको जानकारी दिए ।