अर्जुनधारा । झापाको अर्जुनधारा नगरपालिकामा पूजाको प्रसाद खाँदा बिरामी हुनेको संख्या बढेको छ । हालसम्म बिरामीको संख्या ७६ जना पुगेको नगरस्थित शनिश्चरे आधारभूत अस्पतालका प्रशासन प्रमुख राजबिक्रम खड्काले जनाएको छ ।
बुधबार अर्जुनधारा–९ की रिता निरौलाको घरमा पूजा आयोजना भएको थियो । सो पूजामा प्रसाद खाने उनीहरु बिरामी परेका हुन् । स्थानीय खरबन्दी गाउँमा प्रसाद खाएका सो टोलका सम्पुर्ण बिरामी भएको अर्जुनधारा नगरपालिकाका मेयर बलदेबसिंह गोम्देन तामाङ जानकारी दिए ।
बिरामी भएकामध्ये ६६ जनाको शनिश्चरे आधारभुत अस्पताल, बीएण्डसी अस्पतालमा ५ जना र मनमोहन अस्पतालमा ५ जनाको उपचार भइरहेको खड्काले बताए । उनले बुधबार उपचार गराएर गएका पनि फेरि स्वास्थ्यमा समस्या देखिएपछि अस्पताल भर्ना भएको बताए ।
पूजामा सब्जी, रोटी र अचार खाएका अधिकांस बिरामी परेको बताइएको छ । सुरुमा वाक वाक लाग्ने, बान्ता हुने तथा लगातार डायरिया हुने समस्याले सताएपछि प्रसाद खाएका बिरामीहरु अस्पतालमा भर्ना भएका हुन् । केही बिरामीहरुमा ज्वरो १०४ डिग्रीसम्म देखिएको उपचारमा संलग्न चिकित्सकहरुले बताएका छन् ।
शनिश्चरे आधारभूत अस्पतालमा बेड अभावमा बार्दली, प्यासेज लगायतका स्थानमा राखेर बिरामीको उपचार भइरहेको जनाइएको छ । अस्पतालले सम्पुर्ण स्रोत साधन प्रयोग गरेर बिरामीको उपचार गरिरहेको नगरप्रमुख गोम्देनले जानकारी दिए ।
उनले नगर अस्पतालमा बिरामीको निशुल्क उपचार गर्ने, बिरामीलाई थप उपचार आवश्यक परेमा एम्बुलेन्स र सुविधासम्पन्न अस्पताललाई अलर्ट राखिएको जानकारी दिए ।