बिर्तामोड । नेपालमा अझै पनि ५७ प्रतिशत नागरिक बीमाको दायरामा आइनसकेको पाइएको छ ।
नेपाल बीमा प्राधिकरण कोशीले बुधबार झापामा गरेको अन्तक्रियामा जोखिम हस्तान्तरणको उपयुक्त माध्यम बीमाको दायरामा ठुलो हिस्सा समेटिन नसकेको पाइएको हो ।
प्राधिकरणले बुधबार बिर्तामोडमा झापाका सञ्चारकर्मीसँग बीमा सम्बन्धी अन्तरक्रिया एवम छलफल कार्यक्रम सम्पन्न गरेको छ । अन्तक्रियाको सहजिकरण प्राधिकरण कोशीका निर्देशक बिनोदकुमार पोखरेलले गरेका थिए ।
पोखरेलले जनचेतनाको अभावमा अहिले पनि जनसंख्याको ठुलो हिस्सा बीमाको दायरामा आउन नसक्नु चिन्ताको बिषय भएको बताए । उनले बीमाको दायरामा नआउने नागरिकको जोखिम व्यवस्थापन असहज हुने बताए ।
कार्यक्रममा सहभागीहरुले बीमा दाबी भुक्तानी प्रक्रिया झन्झटिलो रहेको, समयमा बीमा दाबी नपाएको, तीन–चार वर्षमा सरेण्डर गर्दा रकम नपाउने अवस्था रहेको, बजार मूल्यभन्दा निकै कम अंकमा पशुबीमाको बीमाङ्क निर्धारण गर्दा किसानलाई मर्का परेको लगायतका धारणा राखेका थिए ।