भद्रपुर । झापामा टेवलटेनिस संघको पुनर्गठन भएको छ । २०७२ सालदेखि निष्क्रिय रहेको संघ पुनर्गठन भएको हो ।

नवगठित कमिटीको अध्यक्षमा सन्तोष अग्रवाल चयन भएका छन् । अग्रवाल टेबलटेनिसका पूर्व खेलाडि हुन् ।
यसअघि भद्रपुरका अभिषेक ढुङगाना संघको अध्यक्ष थिए । उनको नेतृत्वमा रहेको कमिटी विघटन गरेर नयाँ कमिटी गठन भएको हो । अखिल नेपाल टेबलटेनिस संघका केन्द्रीय उपाध्यक्ष अनुज वानियाँको उपस्थितिमा नयाँ कमिटी गठन भएको हो ।
कमिटीको उपाध्यक्षमा शान्तरत्न शाक्य, सचिवमा मिलन शाक्य, कोषाध्यक्षमा टेकेन्द्र अग्रवाल चयन भएका छन् । सदस्यहरुमा मनिष साहेवाला, बिकेन थापा, कुसुम कोइराला, जमुना राई, प्रकाश राई, सागर श्रेष्ठ, शिखा सुवाल श्रेष्ठ चयन भएका छन् ।
नवगठित कमिटीले टेबलटेनिस खेलका गतिविधि बढाउने प्रतिबद्धता व्यक्त गरेको छ । खेलकुदमध्ये सबैभन्दा बढी खेलिने खेल टेबलटेनिस भएको भन्दै यसलाई व्यवसायिक रुप दिने अध्यक्ष अग्रवालले बताए ।
केन्द्रीय उपाध्यक्ष बानियाँले जुनियर च्याम्पियनसिप आयोजना गर्न झापालाई सुझाव दिए । चर्चित खेलाडि शिखा सुवाल झापाकै भएको हुनाले उनको सहभागिताले संघ चलायमान हुने बिश्वास उनले व्यक्त गरे ।
कार्यक्रममा जिल्ला खेलकुद विकास समिति झापाका अध्यक्ष प्रशान्त भण्डारी नि-वर्तमान अध्यक्ष अभिषेक ढुङगाना लगायतले नवनिर्वाचित कमिटीलाई शुभकामना मन्तव्य राखेका थिए ।


















