झापा । झापाको मेचीनगरमा जारी पाँचौ मेचीनगर गोल्डकप अन्तर्गत बुधबारबाट सेमिफाइनलका खेल सञ्चालन हुँदैछ । प्रतियोगिताको पहिलो सेमिफाइनल खेलमा आज आयोजक काँकरभिट्टा फुटबल ट्रेनिङ सेन्टर र धरान फुटबल क्लब सुनसरी आमनेसामने हुँदैछन् । 

काँकरभिट्टाले उद्घाटन खेलमा भारतको जर्जियन एफसीलाई पराजित गर्दै अन्तिम चारमा आफ्नो स्थान सुरक्षित गर्दा धरानले उज्वेकिस्तानको व्ल्याक बुल्सलाई हराएर आयोजकसंगको भेट तय गरेको थियो ।काँकरभिट्टा खेलमैदानमा दिउँसो २:३० बजेबाट सञ्चालन हुने यी दुई टिम बिचको खेल रोमाञ्चक हुने छ । होम ग्राउन्ड र स्थानीय समर्थनको साथमा आयोजक उच्च मनोबलका साथ मैदान उत्रदा प्रतियोगिताको शसक्त टिम उज्वेकिस्तानको व्ल्याक बुल्सलाई हराएको धरान खेल जित्दै फाइनल पुग्ने दाउमा रहने छ । 

यस अघि मंगलबार भएको अन्तिम क्वाटरफाइनल खेलमा विभागीय टिम एपीएफ क्लब काठमाडौंलाई १-० गोल अन्तरले पराजित गर्दै मच्छिन्द्र एफसी सेमिफाइनल प्रवेश गरेको थियो । मच्छिन्द्रले दोस्रो सेमिफाइनल खेलमा बिहीबार चर्च व्वाइज युनाइटेडबीच प्रतिष्पर्धा हुनेछ ।