बिर्तामोड । यतिबेला झापाकाे एउटा सरकारी कार्यालयभित्र कर्मचारी कुटाकुट गरेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको छ । सरकारी कर्मचारी मात्र भनेकाले कुन कार्यालय र के बिवादमा कुटपिटको घटना भएको हो भन्ने धेरैलाई थाहा छैन ।
हामीले भिडियो बाहिरिएपछि कुन कार्यालयका कार्यालयका कर्मचारी ? के विवादमा झगडा भएको हो भनेर खोजी गर्ने प्रयास गरेका छौं । खाेजीका क्रममा सरकारी कार्यालय र बिवादकाे बिषय पत्ता लागेकाे छ ।
झापाको भद्रपुरस्थित भेटेरिनरी अस्पताल तथा पशु विज्ञ केन्द्रमा भएकाे घटना हो । घटनामा एकजना कर्मचारीले अर्काे कर्मचारीलाई हतौडाले प्रहार गरेको देखिन्छ । उनले झम्टी झम्टी प्रहार गर्दा कार्यालयका अरु कर्मचारी आएर छुट्याउन खोजेकाे भिडियाेमा देखिन्छ।
अस्पतालका डाक्टर सुजन राईले सोमबार बेलुका सहायक पाँचौ तहमा कार्यारत रोहित महतलाई निर्घात कुटपिट गरेका हुन् । घटना अनुसार सिमोन(वीर्य) र नाइट्रोजनको भण्डार रेखदेख गर्ने महतसँग डाक्टर राईले सिमोन मागेका थिए । उनले पहिला नै लगेको सिमोनको ५०० रुपैंया दिन बाँकी रहेका कारण पहिलाको रकम चुक्ता गरेपछि मात्र सिमोन दिने बताए । त्यसपछि हाकिमसँग मुख मुखै लाग्छस भन्दै डाक्टर राईले महतमाथि निर्घात कुटपिट गरेका हुन् ।
उनीहरुको झगडा छुट्याउने क्रममा अर्का कर्मचारी दिवाकर सुनरोहितको टाउकोमा चोट लागेको छ । डाक्टर राईको हातमा भएको हतौडा खोस्ने क्रममा दिवाकरको टाउको फुटेको हो । घटनापछि अहिले जिल्ला प्रशासन कार्यालयमा छलफल भइरहेको बुझिएको छ ।



















