बिर्तामाेड । उच्च अदालतकाे फैसलापछि आफ्नै घरमा काम गर्न राखेकाे बालिकामाथि बलात्कारकाे अभियाेग लागेका बिर्तामाेड नगरपालिकाका पूर्व मेयर ध्रुबकुमार शिवाकाेटी आज रिहा भएका छन् । 

अदालतमा २० लाख रुपैंयाँ धराैटी बुझाएर शिवाकाेटी  तारेखमा रिहा भएका हुन्। उनलाई जिल्ला अदालत झापामा हाजिर गराएर रिहा गरिएकाे छ । उनले आजै पहिलाे तारेख पत्रमा हस्ताक्षर गर्ने छन् । 

उच्च अदालतका न्यायधिस किरणकुमार पोखरेल र रेखा थापा पाण्डेेको इजलासले गत बिहीबार शिवाकोटीलाई तारेखमा रिहा गर्न आदेश दिएको थियाे । शुक्रबार कानुन दिवस, शनिबार सार्वजनिक बिदा परेकाले आइतबार अदालतले ताेकेकाे धराैटी शिवाकाेटी पक्षले धराैटी बुझाएकाे झापा जिल्ला अदालतका सूचना अधिकारी रामचन्द्र बस्नेतले जानकारी दिए । 

वालिका बलात्कारकाे अभियाेगमा शिवाकाेटी मंसीर २४ गते काँकडभिट्टाबाट पक्राउ परेका थिए । उनलाई झापा जिल्ला अदालतले पुष २२ गते पुर्पक्षकाे लागि थुनामा राख्न आदेश गरेकाे थियाे । अदालतले शिवाकाेटीकाे स्वास्थ्यकाे कारण देखाउँदै उपचारकाे प्रबन्ध गर्न पनि भनेकाे थियाे । शिवाकाेटी भने थुनामा नगएर साेही समयदेखि अस्पतालमा बसेका थिए । 

लामाे समय बलात्कारकाे शिकार भएकाे भनिएपनि पीडित वालिका प्रतिवादीकाे संरक्षणमा बसेकाे, साे समयमा जाहेरवाला हजुरआमालाई घटनाकाे बिषयमा कुनै गुनासाे नगरेकाे, पीडित काँकडभिट्टाकाे आफन्त नेपालकाे सम्पर्कमा गएपछि मात्र घटनाबारे जानकारी दिएकाे अदालतकाे पत्रमा उल्लेख छ । 

अदालतले पीडितसँग एउटै काेठामा सुत्ने बसन्ती हस्दा र मञ्जली हस्दासमेतलाई याे घटनाबारे खुलाएकाे नदेखिएकाे बताएकाे छ । यस्तै साे समयमा पीडित भनिएकी वालिकाकाे स्वास्थ्य परीक्षण गर्दा History And Examination Doesnot Exactly Match भन्ने उल्लेख भएका कारण झापा जिल्ला अदालतले पुष २२ गते पुर्पक्षमा राख्नु भनेर गरेकाे फैसला उल्टिने उल्लेख गरेकाे छ ।