दमक । दमक नगरपालिकाका पूर्व नगर प्रमुख इन्द्रबहादुर बुढाथोकीको आज बिहान निधन भएको छ। ७३ वर्षका बुढाथोकी मिर्गौलासम्बन्धी समस्याबाट पीडित थिए।

बुढाथाेकीकाे निधन आज बिहान १० बजे आफ्नै निवासमा भएको पारिवारिक स्रोतले जानकारी दिएको छ । बुढाथोकी २०४९ सालमा दमक नगरपालिकाको प्रमुखमा निर्वाचित भएका थिए । उनले दमक क्याम्पसको सञ्चालक समितिको अध्यक्षको रूपमा समेत योगदान दिएका थिए।

राजनीतिक यात्रा प्रारम्भमा नेकपा एमालेबाट सुरु गरेका बुढाथोकी पछिल्लो समय नेकपा (एकीकृत समाजवादी) मा आबद्ध हुँदै पार्टीको केन्द्रीय सदस्यसमेत बनेका थिए।

उनको सम्मानमा अन्त्येष्टिपूर्व दमक नगरपालिकाको आयोजनामा दिउँसो १ बजे श्रद्धाञ्जली सभा गरिने वर्तमान नगर प्रमुख राम थापाले जानकारी दिएका छन्।