बिर्तामोड । झापाको बिर्तामोड र अर्जुनधारामा एकैदिन तीनजना मृत फेला परेका छन् । 

बिर्तामोड-२, अर्जुनधारा–४ र अर्जुनधारा–११ मा तीन पुरुष मृत अवस्थामा फेला परेका हुन्। घटनामा प्रहरीले प्रारम्भिक अनुसन्धान थालेको जनाएको छ ।

बिर्तामोड नगरपालिका–२, फुलवारी टोलस्थित पासाङ शेर्पाको मकैबारीमा एक पुरुष मृत भेटिएका थिए। मृतक बिर्तामोड–२ आदर्श टोलका अन्दाजी ३६ वर्षीय राम टुडु रहेको खुलेको इलाका प्रहरी कार्यालय अनारमनीले जनाएको छ। घोप्टो अवस्थामा फेला परेका टुडुको शवमा देखिने किसिमका कुनै चोटपटक नभेटिए पनि थप अनुसन्धान भइरहेको जनाइएको छ।

त्यसैगरी, अर्जुनधारा नगरपालिका–४, मदनपुरस्थित जलाधर भित्री कच्ची सडकमा अन्दाजी ४५–५० वर्षका, निलो कमिज र खैरो हाफ पाइन्ट लगाएका अज्ञात पुरुष मृत अवस्थामा फेला परेका छन्। उनी तराईवासी मूलका जस्तो देखिएको जनाइएको छ। हालसम्म मृतकको सनाखत हुन सकेको छैन।

त्यस्तै तेस्रो घटना अर्जुनधारा नगरपालिका–११ नयाँबस्तीस्थित चियाबगानभित्रको कच्ची बाटोमा सोही स्थानका अन्दाजी ६० वर्षीय मित्रलाल कामी लडेको अवस्थामा मृत फेला परेको प्रहरीले जनाएको छ।

तीनै घटनामा इलाका प्रहरी कार्यालय अनारमनीबाट प्रहरी टोली खटिइ घटनास्थलको निरीक्षण गरिएको छ। शवहरू पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल भद्रपुर पठाइएका छन् भने थप अनुसन्धान भइरहेको जनाइएको छ।