बिर्तामाेड । झापाको बिर्तामोडमा स्वास्थ पर्यटन मार्ट २०८२ आयोजना हुने भएको छ । नेपाल टुरिजम बोर्डको आयोजना र नाट्टा कोशी प्रदेश तथा होटल व्यवसायी संघ झापाको सह आयोजनामा बिर्तामोडमा आगामी असार १४ गते “दोस्रो हेल्थ टुरिजम मार्ट” आयोजना हुने भएको हो ।
बिर्तामोडमा आज आयोजित पत्रकार सम्मेलनमा महाेत्सब संयोजक शेखर ढकालले नेपालमा बढ्दो स्वास्थ्य पूर्वाधार र चिकित्सा सेवामा भएको प्रगति तथा भारत, भुटान लगायत मुलुकहरूसँगको भौगोलिक पहुँचलाई मध्यनजर गर्दै स्वास्थ्यलाई पर्यटनसँग जोड्न स्वास्थ्य पर्यटन मार्ट आयोजना गर्न लागिएको जानकारी दिए ।
मार्टमा काेशी प्रदेश भित्रका विशेषगरी झापाका प्रमुख अस्पताल, क्लिनिक, आयुर्वेद तथा प्राकृतिक उपचार केन्द्र, साथै पर्यटन व्यवसायी, ट्राभल एजेन्सी, होटल व्यवसायीहरू को सहभागीता रहने नाटा कोशी प्रदेशका उदय श्रेष्ठले जानकारी दिए ।
गत वर्ष आयोजना गरिएको स्वास्थ्य पर्यटन मार्टमा ७० वटा स्टल रहेका थिए । आँखासँगै क्यान्सर रोगको उपचारका लागि झापामा भारत र भुटानका लागि बिरामीहरू सेवा लिन आउने गरेको श्रेष्ठले बताए । अस्पतालहरूसँग सहकार्यमा उपचारपछि यहाँका पर्यटकीय गन्तव्यहरूमा उनीहरूलाई पुर्याएर पर्यटन प्रवर्धनमा थप टेवा पुर्याउन सकिने उनको भनाइ छ।
पत्रकार सम्मेलनमा पर्यटन कार्यालय झापाका प्रमुख छविलाल खतिवडाले भारतको पश्चिम बङ्गाल बिहार राज्य सँगै भुटान बङ्गलादेशका निम्नमध्यम परिवारका बिरामीहरू उपचारका लागि झापा आउने गरेको बताए । उनले यस्ता कार्यक्रमले यहाँको स्वास्थ्य क्षेत्रको सधैँ पर्यटनको पनि प्रवर्धन गर्न मद्दत मिल्ने धारणा राखे।
पत्रकार सम्मेलनमा नाटाका महासचिव नवीन खरेल, होटल व्यवसायी संघ झापा अध्यक्ष इन्दिरा श्रेष्ठ लगायतको उपस्थिति रहेको कार्यक्रमको सञ्चालन होटल व्यवसाय संघ झापाका महासचिव शिवराज पौडेलले गरेका थिए ।
हेल्थ टुरिजम मार्टमार्फत नेपालका स्थानीय बासिन्दा मात्र होइन, छिमेकी राष्ट्रका नागरिकहरूलाई पनि गुणस्तरीय सेवा तथा उपचारको जानकारी र सहज पहुँच दिन सकिने अपेक्षा गरिएको छ।



















