बिर्तामोड । झापा गाउँपालिका–४ चौधरी टोलस्थित हुलाकी सडकखण्डमा शुक्रबार बिहान मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्।

पन्थापाडाबाट झापा बजारतर्फ जाँदै गरेको नम्बर नभएको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा चालक २४ वर्षीय फकिर अलि (इनरुल) गम्भीर घाइते भएका छन्। उनको टाउकोसहित शरीरका विभिन्न भागमा चोट लागेको छ र अहिले बी एन्ड सी अस्पतालमा उपचार भइरहेको छ।

मोटरसाइकलमा पछाडि सवार २२ वर्षीय साहिदुल हक पनि गम्भीर चोट लागेकाले बी एन्ड सी अस्पतालमै उपचारको क्रममा दिउँसो १२:५५ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।

त्यस्तै, सोही मोटरसाइकलमा सवार २१ वर्षीय सोहिल मियाँको अवस्था सामान्य रहेको र हाल विर्ता सिटी अस्पताल, बिर्तामोडमा उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ।

दुर्घटनापछि प्रहरी चौकी टाघनडुब्बाबाट टोली घटनास्थलमा खटिएको थियो। मोटरसाइकललाई नियन्त्रणमा लिई प्रहरी चौकीमा राखिएको छ भने घटनासम्बन्धी थप अनुसन्धान भइरहेको जनाइएको छ।