भद्रपुर । "नेपाल बार एसोसिएसन (नेवाए) को महिला समिति नेवाए उपाध्यक्ष अधिवक्ता सरस्वती श्रेष्ठको अध्यक्षतामा गठन भएको छ।
नेवाएको विधान, २०४८ को धारा २७क(४) बमोजिम महिला समिति गठन गरिएको हो। विधानमा नेवाएको बर्तमान महिला उपाध्यक्ष महिला समितिको पदेन अध्यक्ष र बर्तमान सदस्यहरु र जिल्ला वारका सहसचिवहरू पदेन सदस्य रहने ब्यबस्था रहेको छ।
नेवाए उपाध्यक्ष श्रेष्ठको अध्यक्षतामा नवगठित महिला समितिमा सदस्यहरू अधिवक्ता शारदा गुरुङ, अधिवक्ता रन्जिता कार्की, अधिवक्ता ईन्दिरा आचार्य पदेन सदस्य रहेका छन भने सदस्य सचिवमा नेवाए सदस्य रिकुकुमारी यादव छन्। त्यसैगरी अन्य पदेन सदस्यहरू सबै वार एकाईका सहसचिव रहने प्रावधान अनुसार झापाबाट वार एकाईका सहसचिव एवं झापा वार महिला समितिको अध्यक्ष सानु कार्की बस्नेत "सिता" पदेन सदस्य छन्।
विधिको शासन, स्वतन्त्र न्यायपालिका र मर्यादित र निष्पक्ष बार स्थापित गर्ने उद्देश्यका साथ वरिष्ठ अधिवक्ता देवनाथ प्रसाद वर्माको संयोजकत्वमा २०१३ साल पौष ७ गते नेवाए स्थापना भएको हो।
हाल २०८१ चैत्र २३ गते २७ औ केन्द्रीय कार्यसमितिको निर्वाचन भई विजयप्रसाद मिश्रको अध्यक्षतामा नया कार्यसमिति निर्वाचित भएको छ। केन्द्रीय कार्य समितिमा महिला उपाध्यक्ष, महासचिव, कोषाध्यक्ष र सदस्यहरूमा महिलाको प्रतिनिधित्व भएतापनि नेवाए अध्यक्षमा महिलाको प्रतिनिधित्व हुन सकेको छैन। अब, महिला प्रतिनिधित्व बढाई समाजमा महिला पीडित हुने अबस्थालाई अन्त्यका लागी कानून व्यवसायी महिलाको पेशागत दक्षता र क्षमताको विकास गर्दै महिला माथि समान र सम्मानजनक ब्यवहार नगर्ने जोसुकै पीडकलाई दण्डित गर्ने कानून निर्माण हुन पहल गर्न नेवाए महिला समिति लाग्नुपर्ने झापा बारका सहसचिव एवं झापा वार महिला समिति अध्यक्ष अधिवक्ता सानु कार्की बस्नेत "सिता"ले बताईन् ।



















