बिर्तामोड । झापाको भद्रपुर नगरपालिका -१० मिलनचोकका जुनु राई र ध्रुव रेग्मी  दृष्टिविहीन दम्पती हुन् । ध्रुवको समस्या जन्मदैको भएपनि परिवारले केहीपछि थाहा पाएको थियोे ।

 जुनुको आँखाको ज्योति उनी तीन वर्षको भएपछि गुमेको हो । ध्रुवले भने," सानैमा आँखा पाक्ने रोगले सताएपछि परिवारले उपचार गर्न लादा उनको आँखाको त्योती गुमिसकेको बताए रे ! " 

उनीहरू दुबैजनाको आँखाको ज्योति कम छ, दैनिकी कष्टकर छ । त्योभन्दा टिठलाग्दो चाहिँ उनीहरूको भएका एउटा सन्तानको मानसिक सन्तुलन स्वभाविक छैन । ध्रुव र जुनुका एकमात्र छोरा अभिषेक मानसिक रूपमा असन्तुलित छन् । १३ वर्षीय उनमा सो समस्या देखिएको ६ वर्ष भयो ।  

अटिजमको समस्याबाट अभिषेक अपरिचित मानिसलाई बेसुरा गाली गर्छन् , एक्कसी झम्ट्न्छ्न् । रेग्मी दम्पतीलाई अभिषेक जोगाउन धौधौ छ । उनलाई घरबाहिर जानबाट रोक्न तगारो लगाएर लगाइएको छ । 

कोही बोलेको सुनेभने अभिषेक तगारो खोल्न पुगिहाल्छ्न् । खोल्न नसकेपछि अश्लील शब्द बोल्न समेत उनी पछि पर्दैन । उनलाई के गर्ने के नगर्ने थाहा छैन । कुनै सुन्दर बस्तु  र त्यस्तै के देख्यो भने फुटाल्न तम्सिन्छ्न् । जोगाउन मुस्किल पर्छ ।  

ध्रुवले भने, " यसलाई कसरी जोगाउने हामीलाई चिन्ता छ, धेरै समय कोठामा थुनेर राख्नु पर्छ ।" अभिषेकलाई उनकी हजुरआमाले हेर्छिन् ।हजुरआमा घरमा नहुँदा रेग्मी दम्पतीलाई समस्या थपिन्छ । 

अभिषेक हलक्क बढेका छन्, सुन्दर छन् । झट्ट हेर्दा अभिषेक असल देखिन्छन् । देखिने  अभिषेक र उनको वास्तविकता  अवस्थामा आकाश पातालको फरक छ । रेग्मी परिवारको आर्थिक अवस्था औषधोपचारको मुख्य समस्या हो । वैदेशिक रोजगारीमा रहेका भाइको बस्दै आएका उनीहरूको जीवन चुनौतीपूर्ण छ।

रेग्मी परिवारको अवस्था थाहा पाएपछि कांग्रेस महामन्त्री तथा झापा १ का सांसद विश्वप्रकाश शर्मा अभिषेकको उपचारमा चासो दिएका छन् । 

भद्रपुर  - १० शर्माको निर्वाचन क्षेत्रमा पर्छ । आफ्नो निर्वाचन क्षेत्रका बासिन्दा रेग्मी दम्पती र उनीहरूका छोरा अभिषेकको अवस्था थाहा पाएपछि शर्माले भने, " सम्भव सबै विधीको खोजी गर्नुपर्छ, तपाईंहरु पनि जुट्नुस् ।" शनिबार रेग्मी परिवारको घर पुगेका कौशल भण्डारी मार्फत सांसद शर्माले रेग्मी परिवारको अवस्थाका बारेमा थाहा पाएका हुन् । 

सांसद शर्माले अभिषेकको उपचार र आवश्यक सहजीकरणमा आफूले सक्दो पहल गर्ने वचन दिएका छन् । आफू सोमबार झापा आउने र थप जानकारी लिएर उपचारका लागि गर्न सक्ने प्रबन्ध मिलाउने शर्माले बताए । 

"स्थानीय तह , स्थानीय युवा  र स्वयंसेवकहरुको  समन्वयमा साथमा रेग्मी परिवारलाई हाम्रा तर्फबाट सम्भव सबै सहयोग जुटाउनेछौं," सांसद शर्माले भने । उक्त परिवारको अत्यावश्यक औषधोपचार, मानसिक स्वास्थ्य  सेवा तथा जीवनयापनमा सहजता ल्याउन सहयोग अभियान अघि बढाइने शर्माले बताए ।