बिर्तामाेड । ऋण असुलीका लागि ताकेता गर्न गएका झापाकाे बिर्तामाेडमा मुख्य कार्यालय रहेकाे सहारा नेपाल बचत तथा ऋण सहकारी संस्थाका कर्मचारीलाई दुर्ब्यबहार गर्ने मधुमल्लाका ऋणी बिरुद्ध उजुरी परेकाे छ । 

सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था व्यवस्थापन समितिले कर्मचारीमाथी दुर्व्यबहार गर्ने ऋणिलाई हदैसम्मकाे कारवाहीकाे माग राख्दै ईलाका प्रहरी कार्यालय उ्लाबारीमा उजुरी हालेकाे हाे ।

शनिबार बिहान मिक्लाजुङ गाउपालिका-२ रचनाटारमा ताकेताका लागि गएका संस्थाको सेवा केन्द्र प्रमुख उमेश राई र सुशीला लामिछानेलाई साे स्थानका ऋणी सदस्य दुर्गामाया लिम्बू र माया मगरले दुर्ब्यबहार गरेका थिए । उनले दुईजना कर्मचारीलाई जुत्ताकाे माला लगाएर फिर्ता पठाएकी थिइन् । ऋणी एशाेसिएसन नेपालकाे उक्साहटमा उनले कर्मचारीलाई दुर्व्यबहार गरेकाे बताइएकाे छ । 

उनले जुत्ताकाे माला लगाएकाे भिडियाे सामाजिक सञ्जालमा भाइरल बनेपछि संस्थाले प्रशासनसमक्ष उनीहरुलाई कारवाहीकाे माग राख्दै उजुरी दर्ता गरेकाे बताएकाे छ । भिडियाेमा महिला कर्मचारीलाई भने जुत्ताकाे माला लगाएकाे देखिन्छ भने, पुरुष कर्मचारीले प्रतिवाद गरेका छन् । 

घटनापछि उनीहरु जुत्ताकाे माला बाेकेर कार्यालय फर्किएका थिए । सहारामा सक्रिय कर्मचारी युनियनले घटनाकाे कडा आपत्ति जनाएकाे छ । युनियनले पिडकलाई कडा कारवाही गर्न माग गरेकाे जनाएकाे छ ।