झापा । झापा जिल्ला अदालतबाट आर्थिक बर्ष २०८० / ०८१ को तुलनामा आर्थिक बर्ष २०८१ / ०८२ मा १ हजार ३१४ थान बढी मुद्दा फर्स्यौट भएको छ।
अदालतका प्रमुख न्यायाधीश उमेश प्रसाद लुइँटेलको अध्यक्षतामा आज एक कार्यक्रमका बीच अदालतबाट यो आर्थिक बर्षमा भएका प्रगतिको समीक्षा भएको थियो।
आर्थिक बर्ष २०८० / ०८१ मा ३ हजार ६६५ थान मुद्दा फर्स्यौट भएकोमा यस आर्थिक वर्षमा ४ हजार ९४९ थान मुद्दा फर्यौट भएको छ। यस आर्थिक वर्षमा ६५ प्रतिशत फर्यौट लक्ष्य राखिएकोमा ६०.४९ प्रतिशत फर्यौट भई लक्ष्यको अनुपातमा ९४.६१ प्रतिशत फर्यौट भएको छ।
अघिल्लो बर्षमा जिम्मेवारी सरि आएका ३ हजार ५५० र यस बर्ष नया दर्ता भएका ४ हजार ६३१ गरी कुल ८ हजार १८१ मुद्दा मध्ये ४ हजार ९४९ थान मुद्दा फर्यौट भएको छ भने अब ३ हजार २३२ थान मुद्दा विचाराधीन रहेका छन।
म्याद तामेली, मुद्दा ब्यबस्थापन लगायत प्रशासनिक काममा अदालतले दिएको तदारुकताले मुद्दा फर्यौटमा तिब्रता आएको प्रमुख न्यायाधीश लुईटेलले बताए।
छिटो छरितो र गुणस्तरीय न्याय प्रदान गर्ने लक्ष्यका साथ न्यायपालिकाको पाचौ रणनीतिक योजना कार्यान्वयनमा रहेको छ भने झापा जिल्ला अदालतले फरक मुद्दा ब्यबस्थापन अन्तर्गत सरल, सामान्य र बिषेश मार्ग समुहका मुद्दालाई निर्धारित अवधिमा फर्यौट गर्ने, मेलमिलाप पद्धतिलाई बढी अवलम्बन गर्ने एवं अदालत प्रति जन आस्था अभिवृद्धि गर्ने कार्यलाई प्रथमिकतामा राखेको हुदा सरोकारवालाहरुको समन्वय र सहयोगको अदालतले अपेक्षा लिएको प्रमुख न्यायाधीश लुईटेलले बताए।
झापा जिल्ला अदालतका प्रमुख न्यायाधीश उमेशप्रसाद लुईटेलको अध्यक्षतामा भएको बार्षिक प्रगति समिक्षा कार्यकममा माननीय न्यायाधीशहरु प्रकाशकुमार अधिकारी, महेन्द्रप्रसाद पोखरेल, तेजबहादुर खड्का, नबीनकुमार जोशी, नगेन्द्र केशरी पोखरेल, रामप्रसाद पौडेल, ऋतबहादुर पुलामी मगर, जिल्ला न्यायाधीवक्ता खडिन्द्र कटुवाल, झापा बार अध्यक्ष बसन्त नेपाल, बरिष्ठ अधिवक्ता गजेन्द्र आचार्य, अधिवक्ता हेमकला कट्टेल आचार्य, अदालतका तहसीलदार उमेश सापकोटा, शाखा अधिकृत लगायत कर्मचारीहरु समेतको उपस्थिति रहेको थियो भने कार्यक्रमको सञ्चालन अदालतका सूचना अधिकारी तथा प्रशासन शाखाका शाखाअधिकृत रामचन्द्र बस्नेतले गरेका थिए ।
सोही कार्यक्रमको अवसरमा यस आर्थिक वर्षमा झापा जिल्ला अदालतमा बढी मुद्दा फर्यौट गरी बक्यौता मुद्दा न्यूनीकरणमा महत्वपूर्ण योगदान पुर्याउनु हुने माननीय न्यायाधीश तेज बहादुर खड्कालाई अदालतले सम्मान समेत गरेको थियो।
मुद्दाको चाप बढिरहेको अबस्थामा छिटो छरितो र प्रभावकारी न्याय सम्पादन गरी जनविश्वास बढाउन झापा जिल्ला अदालतमा फरक मुद्दा ब्यबस्थापन पद्दती, स्वचालित पेशी प्रणाली, दैनिक पेशी छनौटमा गोला पद्धति, मुद्दा दर्ता सफ्टवेयरमा ईन्ट्री हुने र अदालतको कामकारवाही को विवरण वेबसाइटबाट हेर्न सकिने जस्ता नवीनतम् प्रविधिलाई आत्मासाथ गरिएको शाखाअधिकृत बस्नेतले जानकारी दिए।



















