बिर्तामोड । झापा र इलामलाई जोड्ने द्रुतमार्ग बिरिङ खोलाको पक्की पुल आज दिउँसो आएको बाढीले बगाएको छ।

बुधबार दिउँसो करिब १ बजेतिर पुलको पूर्व क्षेत्रको दूईवटा स्पान बगाएपछि द्रुतमार्ग अवरुद्ध भएको हो ।

यो पुल दुई वर्षअघि २०८० साउन २८ गते नै वर्षाका कारण भासिएको थियो। पुलको अवस्था जोखिमपूर्ण भएपछि गत जेठ १३ गतेदेखि स्थानीय जनप्रतिनिधि र प्रहरी चौकी शनिश्चरेको पहलमा यस पुलबाट सवारी साधन आवागमन पूर्णरूपमा बन्द गरिएको थियो।

हाल सवारी साधनहरू वैकल्पिक बाटो प्रयोग गरिरहेका छन्। पुल भत्किएसँगै यस क्षेत्रका मानिसहरूलाई आवतजावतमा थप असुविधा भएको छ।