झापा । झापाको दमकमा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा रहेका श्रीमतीको मृत्यु भएको छ भने श्रीमान घाइते भएका छन् ।

आज बिहान अन्दाजी ८ बजे दमक पशुहाटस्थित पूर्वपश्चिम लोकमार्गमा दमकबाट पाडाजुँगीतर्फ आउँदै गरेको प्र १–०२–००२ ख०९१२ नम्करको तरकारी बोकेको मालवाहक ट्रकले विपरित दिशाबाट जाँदै गरेको प्र१–०१–०१२ प ९३१२ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो ।

दुर्घटनामा मोटरसाइकल चालक कमल गाउँपालिका ५ बस्ने ४३ वर्षीय सुकदेव गौतम घाइते भएका छन् भने मोटरसाइकलमा पछाडी सवार उनकी श्रीमती ४२ वर्षीया मुना गौतमको घटनास्थलमा नै मृत्यु भएको हो । मोटरसाइकल चालक गौतमको बायाँ खुट्टामा सामान्य चोट लागेको छ । उनलाई उपचारको लागि दमक अस्पताल दमक पठाइएको छ ।

मृतकको शव दमक अस्पताल दमकको शवगृहमा लगि राखिएको छ । ट्रक चालक तेह्रथुम लालीगुँरास नगरपालिका ४ बस्ने २५ वर्षीय आङदावा शेर्पासहित ट्रक र मोटरसाइकल इप्रका दमकको नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।