बिर्तामाेड । झापाको कन्काईमा दुई साताअघि ग्यास लिक भएर भएको आगलागीमा परी घाइते भएकी वृद्धाको मृत्यु भएको छ ।
आगलागीमा परेकी ८१ वर्षीया बाटुलीमाया दाहालको आज बिहान घरैमा मृत्यु भएको हो । चारपानेस्थित छोराको घरमा राखिएकोमा अवस्थामा उनको मृत्यु भएको बताइएको छ ।
गत साउन २२ गते बिहान ७ बजे ताप्लेजुङ घर भई कन्काई नगरपालिका-३ सुरुङ्गा बस्ने ध्रुव श्रेष्ठको तीनतले घरको दोस्रो तलामा एउटा कोठामा डेरा गरी बस्दै आएकी दाहालले खाना पकाउने क्रममा अचानक ग्यास सिलिण्डर लिक भएर आगलागी भएको थियो ।आगलागीबाट उनको शरीरको बिभिन्न भाग डढेको थियो ।
उनलाई कनकाई नगर अस्पताल सुरुङ्गामा सामान्य उपचारपश्चात् थप उपचारको लागि काठमाण्डौ लगिएको थियो । त्यहाँ उपचार गराएर उनलाई घर ल्याइएको थियो ।



















