बिर्तामोड । झापाको कमल गाउँपालिकामा मोटरसाइकलको ठक्करबाट एकजना पैदलयात्रीको मृत्यु भएको छ ।

हिजो साँझ ७ बजे कमल गाउँपालिका-३ केराधापस्थित भित्री सडकखण्डमा क्याम्पाबाट केर्खातर्फ आउँदै गरेको प्रदेश न.१–०१–०१६ प ५१०५ नम्बरको मोटरसाइकलले पैदलयात्री सोही ठाउँ बस्ने ८८ वर्षीय टिकाराम श्रेष्ठलाई ठक्कर दिएको थियो ।

टाउको र दाहिने खुट्टामा चोट लागेका घाइते श्रेष्ठलाई स्थानीय मेडिकल केर्खामा सामान्य उपचारपश्चात् थप उपचारको लागि बीएण्डसी अस्पताल बिर्तामोड ल्याइएको थियो । बीएण्डसीमा उपचारका क्रममा राति ११ बजे श्रेष्ठको मृत्यु भएको प्रहरीले जनाएको छ ।

मोटरसाइकल र चालक कमल ५ बस्ने मानकुमार सुबेदीलाई नियन्त्रणमा लिएको छ ।