झापा । तेस्रो संस्करणको मिस्टर कञ्चनजंघा खुला शरीरिक सुगठन प्रतियोगिताको तयारी पूरा भएको आयोजकले जनाएको छ । प्रतियोगिता भदौ २७ र २८ गते बिर्तामोडमा हुँदैछ ।
प्रतियोगिताका संयोजक राम दाहालका अनुसार पहिलो र दोस्रो संस्करण प्रदेशस्तरीय भएको प्रतियोगिता यो संस्करणबाट राष्ट्रियस्तरको हुन लागेको हो । झापामा राष्ट्रियस्तरको शारीरिक सुगठन प्रतियोगिता पहिलोपटक हुन लागेको हो ।
पहिलो दिन प्रिजजिङ र दोस्रो दिन फाइनल प्रतिस्पर्धा हुने प्रतियोगितामा ५५ , ६०, ६५, ७०, ७५ र ७५ केजीभन्दा माथिका तौल समूहका खेलाडीहरू सहभागी हुने शारीरिक सुगठन संघका कोशी अध्यक्ष तथा प्रतियोगिताका अध्यक्ष आदित्य पराजुलीले बताए ।
बिर्तामोडको बडी ग्यारेजको आयोजनामा हुने प्रतियोगिताको विजेताले नगद पाँच लाख रुपैयाँ प्राप्त गर्नेछ । यसअघि प्रदेशस्तरीय हुँदा विजेताको पुरस्कार नगद ३ लाख ११ हजार १११ रुपैयाँ थियो ।
त्यस्तै, दोस्रो हुनेले नगद तीन लाख रुपैयाँ, तेस्रो हुनेले दुई लाख, चौथो हुनेले एक लाख रुपैयाँ पाउनेछ । पाँचौँ हुनेले नगद ७५ हजार रुपैयाँ र छैटौँ हुनेले नगद ५० हजार रुपैयाँ पाउने प्रतियोगिताका संयोजक दिपेन चौधरीले बताए ।
हरेक तौल समूहका दोस्रो हुने खेलाडीले नगद पाँच हजार र तेस्रो हुने खेलाडीले नगद तीन हजार रुपैयाँ पाउनेछन् । प्रतियोगितामा देशभरबाट दुई सयजना खेलाडीहरूले सहभागिता जनाउने संयोजक दाहालले बताए । प्रतियोगिताको सम्पन्न गर्न ३५ लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको छ ।
दोस्रो मिस्टर कञ्चनजंघा शरीरिक सुगठन प्रतियोगिताको उपाधि दिलिपकुमार चौधरीले जितेका थिए । डिएनपी फिटनेस गाईघाटका उनी ६५ केजी तौल समूहबाट सहभागी थिए ।



















