बिर्तामोड । रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीमा झापाका ११ जना सम्पर्कविहीन भएका छन्। जिल्ला प्रशासन कार्यालय झापाका अनुसार नौ जनाका आफन्तले उनीहरू हराइरहेको जानकारी गराएका छन्।

सम्पर्कविहीन हुनेमा बिर्तामोडका राजेश आचार्य, बुद्धिसागर र खिनमाया न्यौपाने, कनकाईका घनश्याम भट्टराई, मेचीनगरका दीपक खरेल र विधान लुईटेल, बुद्धशान्तिका राजकुमार दियाली, उनकी श्रीमती सृष्टि र ३ वर्षीय छोरा राजन दियाली तथा निश्चल पाण्डे रहेका छन्।

यस्तै, गौरीगञ्जका केवलनाथ आचार्य र चुड्का टुडु पनि परिवारको सम्पर्कमा नरहेको जनाइएको छ। उनीहरू रसुवास्थित जलविद्युत् आयोजनामा कार्यरत थिए।

यसैबीच रसुवाको गोसाइँकुण्ड तीर्थयात्रामा रहेका गौरीगञ्ज–३ का वडाध्यक्ष श्रवण गिरीसहित सात जना भने सकुशल रहेको खबर आएको छ।

जिल्ला प्रशासन र प्रहरीले रसुवा लगायत बाढी प्रभावित क्षेत्रमा रहेका आफन्त सम्पर्कमा छन् कि छैनन् यकिन गरी जोखिममा रहेको पाइए तत्काल नजिकको प्रहरी कार्यालय वा प्रशासनमा जानकारी गराउन आग्रह गरेको छ।