झापा । नेपाल–चीन सीमा क्षेत्रमा विनाशकारी बाढीपछि बनेको प्राकृतिक बाँधयुक्त तालबाट पानी ओभरफ्लो हुन थालेपछि चीनले उच्च सतर्कता अपनाएको छ।

तिब्बतको जिरोङ क्षेत्रस्थित नदीमा हिमपहिरो तथा ढुंगा–माटो थुप्रिएर बनेको प्राकृतिक बाँधले पानी रोकेपछि बनेको तालमा पानीको मात्रा तीव्र रूपमा बढिरहेको चिनियाँ अधिकारीहरूले बताएका छन्।

चिनियाँ जलस्रोत मन्त्रालयका अनुसार तालमा करिब २० लाख घनमिटर पानी जम्मा भएको छ। आगामी तीन दिनमा थप करिब ३० लाख घनमिटर पानी तालमा प्रवेश गर्न सक्ने अनुमान गरिएको छ। प्राकृतिक बाँध कमजोर रहेकाले ताल फुटेर ठूलो बाढी आउन सक्ने जोखिम उच्च रहेको चिनियाँ पक्षले जनाएको छ।

तालबाट पानी ओभरफ्लो हुन थालेपछि चिनियाँ पक्षले जोखिम मूल्यांकन तथा उद्धार कार्यलाई समेत प्रभावित हुने गरी सतर्कता बढाएको छ। चिनियाँ प्राविधिक टोलीले हवाई सर्वेक्षण तथा थ्री–डी मोडलिङमार्फत प्राकृतिक बाँधको अवस्था अध्ययन गरिरहेको छ।

चिनियाँ समाचार स्रोतहरूले भने प्राकृतिक बाँध पूर्ण रूपमा फुटिसकेको पुष्टि गरेका छैनन्। अहिलेको अवस्था तालबाट पानी बाहिरिन थालेको र बाँध फुट्ने सम्भावना उच्च रहेको हो।

प्राकृतिक बाँध अचानक भत्किएमा पानीसँगै ढुंगा, माटो तथा अन्य मलबा तलतर्फ बग्न सक्ने भएकाले नेपालतर्फ पुनः आकस्मिक बाढीको जोखिम बढेको छ। विशेषगरी रसुवागढी, टिमुरे, भोटेकोशी तथा त्रिशूली नदी आसपासका क्षेत्रमा उच्च सतर्कता आवश्यक देखिएको छ।

यसअघि भदौ १० गते आएको विनाशकारी बाढीले रसुवाको रसुवागढी तथा आसपासका क्षेत्रमा ठूलो जनधनको क्षति गरिसकेको छ। त्यसपछि बनेको नयाँ प्राकृतिक तालले थप जोखिम सिर्जना गरेपछि नेपालतर्फ पनि निगरानी र पूर्वसूचना प्रणालीलाई प्रभावकारी बनाउनुपर्ने आवश्यकता देखिएको छ।