झापा । बिर्तामोड नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सागर मिश्र उत्कृष्ट निजामती पुरस्कारबाट सम्मानित भएका भएका छन् ।
नेपाल सरकार संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयद्धारा आयोजित एक कार्यक्रममा देशैभरिमा उत्कृष्ट कर्मचारीको रुपमा १ लाख नगद पुरस्कारद्धारा उनलाई सम्मान गरिएको हो ।
सरकारले प्रत्येक वर्ष निजामती क्षेत्रका बिभिन्न उत्कृष्ट कर्मचारीहरुलाई पुरस्कृत गर्दै आएको छ । त्यस अन्तर्गत यसपटक १० जनालाई उत्कृष्ट राष्ट्रसेवकको रुपमा पुरस्कृत गरिएको जनाइएको छ । त्यसैगरी ५० हजार राशीको निजामती पुरस्कारबाट ३० जना कर्मचारी पुरस्कृत भएका छन् ।
नेपाल सरकारका मुख्य सचिव एकनारायण अर्यालको अध्यक्षतामा भएको पुरस्कार वितरण कार्यक्रमको प्रमुख अतिथिको रुपमा नेपाल सरकारका उप प्रधानमन्त्री प्रकाशमान सिंह रहेका थिए । सो कार्यक्रमको बिशेष अतिथिको रुपमा संघीय मामला तथा सामान्य प्रशासन मन्त्री भगवती न्यौपाने थिइन् ।
उत्कृष्ट राष्ट्रसेवकको रुपमा पुरस्कृत स्थानीय तहका बारेमा बिशेष अनुभवी तथा इमानदार कर्मचारीको रुपमा चिनिन्छन् । २०५९ सालदेखि सरकारी सेवा प्रवेश गरी बिभिन्न जिल्ला र क्षेत्रमा कार्य अनुभव बटुलिसकेका मिश्रले प्रशासन कार्यालय झापा र कालिकोट, डोल्पा साथै भुटानी शरणार्थी शिविरमा समेत सरकारी सेवा गरेर ख्याति कमाएका छन् । उनले जापान, कोरिया, श्रीलंका, चीन, हंगकंग, फिलिपिन्स, इण्डोनेशिया, मलेशिया, सिंगापुर, थाइल्याण्ड, यूएई, भारतलगायतका देशको भ्रमण गरेका छन् ।



















