कौशल भण्डारी
अर्जुनधारा । संक्रमणकालमा हुन सक्ने अप्रीय घटना न्युनिकरण गर्ने उदेश्यले अर्जुनधारा–५ का सबै टोलमा टोल सुरक्षा समिति गठन गरिएको छ ।
चाडपर्व लक्षित सुरक्षा योजना अन्तर्गत बढ्दो चोरी डकैतीको घटनालाई ध्यानमा राखेर सुरक्षा समिति गठन गर्ने निर्णय गरिएको छ।
वडाध्यक्ष गीता राज खड्का (हरि) का अनुसार हालको विषम परिस्थितिमा ‘आफ्नो गाउँ, आफैँ जोगाऔं’ भन्ने नाराका साथ स्थानीयस्तरमै सुरक्षा व्यवस्थापनको तयारी गरिएको हो।
वडामा रहेका ८ वटै टोलमा स्थानीयको सहभागितामा टोल सुरक्षा समिति गठन गरिनेछ, जसले रात्री गस्ती, शंकास्पद गतिविधिको निगरानी, र आवश्यक समन्वयको काम गर्नेछ। समितिहरूलाई स्थानीय स्वयंसेवकहरूले सघाउनेछन्।
हाल वडामा न त प्रहरी प्रशासनको उपस्थिति छ, न त नेपाल सरकारका तर्फबाट कुनै सुरक्षा व्यवस्था। अहिले शहरमा केवल नेपाल आर्मीको उपस्थिति देखिएको छ। त्यसैले हामी आफैं जुटेर गाउँको सुरक्षाको लागि टोलस्तरमै समिति गठन गर्दैछौं।” खढ्काले भने ।
चाडपर्वका बेला जनताको सुरक्षामा कुनै कमी नहोस् भन्ने उद्देश्यले वडाले स्थानीय बासिन्दालाई सतर्क रहन र टोल सुरक्षा समितिहरूमा सक्रिय सहभागी हुन आग्रह गरेको छ।



















